धनगढी, ११ पुस ।
दोस्रो नेपाल आइडल बनेका रवि ओडले आफ्नो जीतकाे खुःशी साट्न नपाँउदै आमा गुमाएका छन् । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी रवी कि आमाको मृत्यु भएकाे हाे । ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जनाइएकाे छ ।
करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यस्तताका कारण घर गएका थिएनन् ।
रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो । कर्मदिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना घटेको छ ।
आमालाई करेन्ट लागेको थाहा पाएपछि रविले चिकित्सकलाई फोन गरेर आफू अस्पताल आइरहेको र जसरी पनि आमालाई बचाइदिन आग्रह गरेका थिए ।