काठमाडौं, २२ मंसिर ।
अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीकाप्रसाद कँडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघ र केन्द्रीय समितिबारे फैलाइएको भ्रममा नपर्न अपिल गरेका छन् ।
अध्यक्ष कँडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासंघको हालै सम्पन्न तेस्रो राष्ट्रिय भेलाले निर्वाचित गरेको नयाँ नेतृत्वसहितको केन्द्रीय समितिबारे केही अपरादर्शी र अराजक व्यक्तिहरुले ‘समानान्तर’ कमिटी गठन गरेको भनी झुठा र कपोकल्पित समाचारहरु दिएर अफवाह फैलाएको बताएका छन् ।
उक्त झुठा प्रचारसँग सचेत रहन अपिल गर्दै अध्यक्ष कँडेलले ती व्यक्तिहरुबाट ल्याइएको भ्रामक विज्ञिप्तप्रति आपत्ति जनाएका छन् । महासंघ नेकपानिकट जनवर्गीय संगठन हो । यही मंसिर १० गते काठमाडौंमा नेकपाका पोलिटब्यूरो सदस्य एवं फय्राक्सन ईन्चार्ज मोहनबहादुर कार्की ‘जीवन्त’को उपस्थितिमा महासंघको तेस्रो राष्ट्रिय भेला सम्पन्न भएको थियो । सोही भेलाले कँडेलको अध्यक्षतामा ३ जना सल्लाहकारसहित २९ जनाको केन्द्रीय समिति निर्वाचित गरेको थियो ।
सो भेलाले उपाध्यक्षमा पितम्बर भुर्तेल, प्रकाश चन्दलाई महासचिवमा, सचिवमा रत्ना शर्मा र कैशाल लामालाई कोषाध्यक्षमा निर्वाचित गरिसकेको छ । तर भेलाबाट अस्वीकृत गरिएका तत्कालीन उपाध्यक्ष प्रमोद योगीलगायत व्यक्तिहरु केही व्यक्तिहरुको उक्साहटमा लागेर ‘समानान्तर’ कमिटी तयार पारिएको जस्ता भ्रामक वक्तव्यबाजीमा उत्रिएको भन्दै अध्यक्ष कँडेलले खेद प्रकट गरेका छन् ।
भेलाका अतिथिहरु नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनलगायतले महासंघका नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बधाई शुभकामना व्यक्त गरेका थिए ।
योगीलाई यसअघि नै पार्टी संगठनको साधारण सदस्यता समेत नरहने गरी पार्टी संगठन र महासंघ निस्कासन कारवाही गरिसकेका छन् । योगीलाई महासंघले पार्टी बाहिरका मान्छे भनिएको छ ।
साथै अध्यक्ष कँडेलले छिट्टै देशमा स्वास्थ्य क्षेत्रमा भइरहेको विकृति र विसंगतिबारे स्वेतपत्र जारी गर्न लागिएको जानकारी समेत दिएका छन् । नागरिको स्वास्थ्यमा राज्यले गम्भीर खेलवाड गरिरहेको बताउँदै महासंघले यसलाई सुधार्नेबारे जनस्वास्थ्य नीति सार्वजनिक लागिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
