कैलालीका किसानलाई धान भित्र्याउने चटारो

कैलालीका किसानलाई धान भित्र्याउने चटारो

  • शनिबार, कार्तिक १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

धनगढी, १० कात्तिक 

कैलालीका किसानलाई यतिबेला वर्षे धानबाली काटेर भित्र्याउने चटारो बढेको छ ।

जिल्लाको अधिकांश जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको र धान बेचेर खर्चको जोहो गर्नुपर्ने हुँदा चाडबाडको समयमा पनि आफूहरुलाई धान भित्र्याउने चटारो बढेको स्थानीय कृषकहरूले बताएका छन् । किसानको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको धान बेचेरै घरायसी र अन्य खर्चको जोहो कृषकले गर्दै आएका हुन् । “दशैँमा खर्च नभएर समस्या भयो, स्थानीय कृषक केशव पाण्डे्यले भन्नुभयो, तिहार नजिक आउँदै गर्दा धान पनि पाकेकाले काटेर खर्च जुटाउनै प¥यो ।”

सुदूरपश्चिम प्रदेशका कैलालीलगायत जिल्लामा चाडपर्वको समयमा नयाँ धानको चामल पिँधेर बनाइने पीठोबाट न्वागी, माणा, सिरौला, ढिक्रीजस्ता स्थानीय खानाका परिकार पकाएर खाने चलन भएकाले पनि किसानलाई धान काट्ने चटारो बढेको हो । धान काट्नु अघि नयाँ धानको बाला काटेर आ–आफ्नो घरको दैलोमा र कूलदेवताको मन्दिरमा गोबरले टाँसेर पूजा गर्ने परम्परा पनि सुदूरपश्चिम प्रदेशमा छ ।

धान काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि समयको बचत हुनाका साथै परिश्रमसमेत कम लाग्न थालेको किसान राजाराम रानाले बताउनुभयो । “खेत खनजोत र कृषिउपज ढुवानी गर्दा पहिलेजस्तो राँगा र गोरुगाडाको प्रयोग घटेर ट्र्याक्टर, धान काट्ने र झार्ने काममा आधुनिक उपकरणको प्रयोग बढ्दा निकै सहज भएको छ, रानाले भन्नुभयो, समयमै मलखाद, बीउबिजन, सिँचाइजस्ता समस्या भने हट्न नसक्दा समस्या हुने गरेको छ ।”

जिल्लाको दक्षिणी क्षेत्रका भजनी, टीकापुर, नारायणपुर ,धनसिंपुर, जानकीनगर, जोशीपुर, बसौटी, पवेरा, हसुलियालगायत क्षेत्रमा धानको उत्पादन बढी हुने गरेको छ । कृषक आफूलाई आवश्यक पर्ने धान घरमा भण्डार गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गर्छन् । धान उत्पादनका लागि उर्बर जग्गा रहेको कैलाली जिल्लामा झण्डै ७२ हजार ५०० हेक्टर जग्गामा धानखेती हुँदै आएको छ । प्रदेशका दुई तराईका जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडी जिल्लामा समेत आपूर्ति हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी