क्याम्पसको आम्दानी कर्मचारीको पोल्टामा

क्याम्पसको आम्दानी कर्मचारीको पोल्टामा

  • बुधबार, अशोज २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 28.2K
    SHARES

जनकपुरधाम, २४ असोज ।जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको जग्गाबाट हुने आम्दानी सीधै कर्मचारीको खल्तीमा जाने गरेको छ । झन्डै ९० बिघा जग्गाको कमाइ वर्षौँदेखि क्याम्पसको खातामा दाखिल भएको छैन ।

जनकपुरका दाजुभाइ रामस्वरूप र रामसागर साहले क्याम्पसका लागि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाअन्तर्गत महेन्द्रनगर सखुवामा ५७ बिघा र नन्दुपट्टीमा २२ बिघा १४ कट्ठा जग्गा क्याम्पसलाई दान दिएका थिए । त्यसैगरी, जानमुन सिंहले धनुषाको दुरबकोट हथलेटवामा चार बिघा १३ कट्ठा, रामचन्द्र साहले जनकपुरमा सात कठ्ठा १६ धुर, तुलसी गिरीले सात कठ्ठा १६ धुर र गुठी संस्थानले पाँच बिघा जग्गा क्याम्पसलाई दान दिएका थिए । तर, जग्गाको आम्दानी क्याम्पसमा दाखिला नभएको वर्षौँ भइसकेको छ ।

जग्गाको रेखदेखको जिम्मा क्याम्पसको सामान्य प्रशासन शाखालाई दिइएको छ । सो शाखाले नै भाडामा दिइएको जग्गाको अनुगमन गर्ने र आम्दानी लिने जिम्मेवारी पाएको छ । तर, शाखा इन्चार्ज विजयकुमार सिंहले जग्गाबाट बर्सेनि कति आम्दानी हुन्छ भन्ने आफूलाई समेत थाहा नभएको बताए ।

तर, क्याम्पस प्रमुख विजयकुमार लाभले ती जग्गामा केही कर्मचारीकै हालिमुहाली रहेको बताए । क्याम्पस प्रमुख लाभले भने, ‘जग्गाको विषयमा मलाई केही थाहा छैन, मैले देखेको पनि छैन, कति आम्दानी आउँछ, थाहा पनि छैन ।’ सामान्य प्रशासन शाखाकै विजयकुमार सिंह र जगदीश साहले सो जग्गाको रेखदेख गर्दै आएको बताउँदै उनले जग्गाबाट आउने आम्दानी उनीहरूले नै बाँडीचुँडी खाएको बताए ।

सामान्य प्रशासन शाखा इन्चार्ज सिंहका अनुसार ९० बिघामध्ये करिब पाँच बिघा जमिन नदीले कटान गरेको छ । त्यस्तै, खेतीयोग्य नभएको पाँच बिघामा आँपको बगैँचा छ । गुठी संस्थानले दिएको पाँच बिघा भने क्याम्पसले प्रयोग गरेको छ ।

बाँकी जग्गामा करिब चार सयजनाले खनजोत गर्दै आएका छन् । तीमध्ये करिब ५० जनाले मात्रै कुतका रूपमा केही धान क्याम्पसलाई दिने गरेका छन् । बाँकीले धाकधम्की देखाई कुत नै नबुझाउने गरेको सामान्य प्रशासन शाखाका इन्चार्ज विजयकुमार सिंहले बताए ।

क्याम्पसको करिब ५० हजार मनभन्दा बढी धान अझै विभिन्न व्यक्तिहरूले राखेको सिंहको भनाइ छ । उनले भने, ‘कुत असुल गर्न क्याम्पससँग क्षमता छैन, ताकेता गर्दा ज्यान नै मार्ने धम्की आउँछ, यस्तोमा कसरी असुल हुन्छ ?’ क्याम्पसका कुनै पनि प्रमुखले यो विषयमा चासो नदेखाएको सिंहले आरोप लगाए ।

करिब १० वर्षअघि कुतको विषयमा सखुवा महेन्द्र नगरका सालिजान कबारी र रामवृक्ष ठाकुरसँग क्याम्पसले मुद्दा जितेको थियो । सिंहले भने, ‘अदालतले क्याम्पसको पक्षमा फैसला पनि ग¥यो, तर उनीहरूले आफूहरू कुत नबुझाउने बरु जेल नै बस्ने भने । क्याम्पसले उनीहरूलाई जेल पठाउन चाहेन, कारण जेलमा पनि उनीहरूको खर्च क्याम्पसले नै व्यर्होेनुपर्ने हुन्थ्यो ।’ सालिजान कबारीले कुतको चार हजार र रामवृक्ष ठाकुरले दुई हजार मन धान असुल गर्न बाँकी रहेको सिंहले बताए ।

त्रिविको सम्पत्ति राजर्षि जनकको नाममा आएन
राजर्षि जनक विश्वविद्यालयको आधार रहेको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको सम्पत्ति अझै विश्वविद्यालयमातहत आउन सकेको छैन । त्रिविले सम्पत्ति हस्तान्तरणमा आनाकानी गरेको छ । त्यस्तै, आंगिक क्याम्पसका रूपमा सिरहाको सूर्यनारायण सत्यनारायण यादव बहुमुखी क्याम्पस र महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको सम्पत्ति पनि त्रिविले हस्तान्तरण गरी नसकेको राजर्षि जनक विश्वविद्यालयका रजिस्टार महेन्द्र यादवले बताए ।नयाँपत्रिकाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी