२५ भदौ, ललितपुर ।
काठमाडौं उपत्यकाबाट प्रकाशित खोजतलास साप्ताहिक र खोजतलास न्यूज डटकमका अध्यक्ष एवं प्रधान सम्पादक राजु बस्नेतलाई ललितपुरको चापागाउँ प्रहरीले गिरफ्तार गरेको छ ।
सुशिल खनालको जाहरी परेको भन्दै विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धानको लागि प्रहरीले आज बिहान ललितपुरको ठेँचोस्थित घरैबाट गिरफ्तार गरिएको हो ।
ललितपुरको हरिसिद्धि इट्टा उद्योगको जग्गामा स्थानीय र व्यापारीबीच परेको विवादसम्बन्धी समाचार प्रकाशितलाई आधार बनाएर परेको उजुरीको आधार गिरफ्तार गरिएको जनाइएको छ । अहिले बस्नेतलाई जावलाखेल प्रहरीमा राखिएको छ ।
खोजतलास न्यूज डटकमले दृष्टि न्यूज डटकममा प्रकाशित समाचारलाई साभार गरी प्रकाशित गरिएको थियो । समाचार स्थानीय जनप्रतिनिधि र सांसद पम्फा भुसालको तस्बीर राखेर प्रकाशित थियो ।
पत्रकार बस्नेतको गिरफ्तारीको संचारमाध्यमले विरोध गरेको छ । बस्नेतलाई तत्काल रिहा गर्न संचारकर्मी र संगठनहरुले माग गरेका छन् ।
जावलाखेल प्रहरी परिसरका अनुसन्धान अधिकृत ज्योतिराज शर्मा पौडेलले पत्रकार बस्नेतलाई पक्राउ गरी दाखिला गर्न चापागाउँ प्रहरी र सातदोबाटो प्रहरीलाई काठमाडौं जिल्ला अदालतको आदेशमा जारी आदेशबमोजिम उल्लेख गर्दै हिजो आइतबार पत्राचार गरेका थिए ।
पूर्ण प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने गरी भदौ १ गतेबाट लागू भएको मुलुकी (अपराध) संहिताको संचार क्षेत्रबाट विरोध भइरहेको बेला बस्नेतलाई समाचार प्रकाशितलाई आधार बनाएर पक्राउ गरिएको यो नै सम्भवत पहिलो घटना हो ।