सरकार र प्रा डा केसीबीच नौबुँदे सहमति, अनशन अन्त्य

सरकार र प्रा डा केसीबीच नौबुँदे सहमति, अनशन अन्त्य

  • शुक्रबार, साउन ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.1K
    SHARES

काठमाडौँ, १० साउन । नेपाल सरकार र २७ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति प्रधानमन्त्री निवास बालुवाटारमा नौबुँदे सहमति भएपछि उहाँको अनशन तोडिएको छ ।

प्रा डा केसी विभिन्न माग राखी २७ दिनदेखि कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा १५ औँ अनशनमा हुनुहुन्थ्यो । सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र माथेमा कार्यदलका संयोजक प्रा केदारभक्त माथेमाले अस्पतालमा अनशनरत प्रा डा केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा जुस ख्वाएर अनशन तोडाउनुभएको थियो ।

सो अवसरमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्याल, स्वकीय सचिव राजेश बज्राचार्य, प्रेस सहयोगी चेतन अधिकारीलगायत हुनुहुन्थ्यो । प्रा डा केसीलाई आज राति नै सघन उपचार कक्षमा लगिएको छ ।
प्रा डा केसीको अनशन तोडाउन प्रधानमन्त्री केपी शर्मा ओलीका साथै उहाँका तर्फबाट नेकपाका नेता नेम्वाङ, प्रा डा माथेमा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा धर्मकान्त बाँस्कोटा, मन्त्रिपरिषद्का चिकित्सक प्रा डा दिव्यासिंह शाहलगायत सक्रिय हुनुहुन्थ्यो । आज राति त्रिवि शिक्षण अस्पतालमा भएको नौबूँदे सहमतिपत्रमा सरकारी वार्ताटोलीका तर्फबाट शिक्षा, विज्ञान ताथ प्रविधि मन्त्रालयका सचिव खगराज बराल र प्रा डा केसीका तर्फबाट उहाँ स्वयंले हस्ताक्षर गर्नुभयो ।
सरकारी वार्ता टोलीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने तथा प्रा डा केसीका तर्फबाट डा अभिशेष सिंह, डा जीवन क्षेत्री, अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता ओमप्रकाश अर्याल सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीले प्रा डा केसीको अनशन अन्त्यका लागि तीन दिनदेखि विशेष पहल गरी छलफललाई तीव्रता दिनुभएको थियो । प्रा डा केसीले उठाउनुभएको पछिल्ला मागलाई सरकारले संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकमा समावेश गराउने प्रतिबद्धता जनाएपछि प्रा डा केसीले अनशन अन्त्य गर्नुभएको हो ।

शिक्षण अस्पतालमा पत्रकारसँग कुरा गर्दै नेता नेम्वाङले सो सहमतिका लागि प्रधानमन्त्री र सरकारले गम्भीरतापूर्वक भूमिका निर्वाह गरेको र प्रधानमन्त्रीको निर्देशनमा आफूहरु क्रियाशील भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आज हामीले चिकित्सा शिक्षा र स्वास्थ्य विषयका कुरा टुङ्ग्याउन सफल भएका छौँ, समझदारी गरेका छौँ । प्रा डा केसीले शिक्षा र स्वास्थ्यका लागि गरेका प्रयासमा हामीले प्रतिबद्धता व्यक्त गरेका छौँ । सहमतिलाई संसद्को प्रक्रियामा लाने प्रतिबद्धता प्रधानमन्त्रीले गर्नुभएको छ । सो प्रतिबद्धता संसदीय प्रक्रियामार्फत टुङ्गोमा पुग्नेछ । प्रा डा केसीले फेरि फेरि अनशन बस्नु नपरोस् । तपाईँ हामी विरोधी होइनौँ । ”
नेता नेम्वाङले प्रधानमन्त्री ओली र सरकार चिकित्सा शिक्षा र स्वास्थ्यका विकृति र विसंगति अन्त्य गर्न लागिरहेको चर्चा गर्दै सरकारको अभियान र डा केसीको अभियान साथ साथमा छ भन्नुभयो । सो सहमतिलाई जनताको प्रतिनिधिमूलक संस्था संसद्मा छलफलमा लगी टुङ्गोमा लगिने उहाँले स्पष्ट गर्नुभयो ।
सो अवसरमा कार्यदलका संयोजक प्रा डा माथेमाले चिकित्सा शिक्षाको गुणस्तर र त्यसमा सबैको पहुँच पु¥याउन सो सहमतिले मूर्त रुप दिने विश्वास व्यक्त गर्नुभयो । “यो कसैको जीतहारभन्दा पनि चिकित्सा शिक्षाको विजय हो”, उहाँले भन्नुभयो । उहाँले माथेमा कार्यदलको प्रतिवेदनअनुसारको विधेयक संसद्मा आउने पनि स्पष्ट गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ