काठमाडौँ, १६ जेठ ।
सरकारले समृद्ध नेपालका लागि शैक्षिक जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औँ अधिवेशनको आज प्रधानमन्त्री ओलीले आधुनिक, रोजगारमूलक, आत्मनिर्भर, व्यावहारिक र समाजोपयोगी शिक्षाका लागि सरकारले प्राथमिकता दिएको बताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्नातक उत्तीर्ण गरेको छ तर केही गर्न सक्दैन, त्यस्तो हुनुहुँदैन, शिक्षाले त्यस्तो जनशक्ति निर्माण गरोस्, जसले समृद्ध नेपाल निर्माणमा योगदान दिन सकोस्, विद्यार्थीको चाहनाअनुसारको शिक्षा नदिएमा ऊ सफल हुँदैन, विद्यार्थी सफल नभए समृद्ध नेपाल बन्दैन ।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले स्थगित भएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा चाँडै लिइने र त्यससँगै खुल्ला परीक्षा पनि लिइने जानकारी दिनुभयो ।
शिक्षा ऐन, २०२८ लाई विस्थापन गरी सबैसँग परामर्श गरेर संघीय शिक्षा ऐन तथा अनिवार्य शिक्षा ऐन ल्याउने बताउँदै उहाँले शिक्षाको बजेट क्रमशः बढ्दो क्रममा रहेको र उच्च शिक्षालाई विशेष प्राथमिकता दिइएको तथा विद्यार्थी भर्ना अभियान सफल भएकाले अब टिकाउ, बिकाउ र सिकाइ अभियान सञ्चालन हुने जानकारी दिनुभयो ।
मन्त्री पोखरेलले उच्चस्तरीय शिक्षा आयोग पुनर्गठन गरिने र शिक्षकका लागि अलग्गै अस्पताल खोलिने जानकारी दिँदै आफूहरु शिक्षकको राजनीतिक अधिकार कटौती गर्ने पक्षमा नरहेको स्पष्ट गर्नुभयो ।
कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, संस्थापक अध्यक्ष बद्रीप्रसाद खतिवडालगायतलाई सम्मान गरिएको थियो ।