भक्तपुर, २० वैशाख ।
निजी विद्यालयले गरेको चर्को शुल्क वृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनले आज शिक्षा विभागका महानिर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
शिक्षा विभागले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को ठाडो उलंघन गर्दै निजी विद्यालयले चर्को शुल्क असुलिरहेका बेलामा पनि शिक्षा विभाग मौन बसेको भन्दै विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् ।
अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी), अखिल (छैटौँ) लगायत विद्यार्थी संगठनले लामो समयदेखि पटकपटक ध्यानाकर्षण गराउँदा पनि विभाग मौन बसेकाले ताला लगाउन बाध्य भएको अखिल(क्रान्तिकारी)का सचिव डिबी साउदले बताउनुभयो ।
आन्दोलनरत विद्यार्थी संगठनले हिजोमात्र प्याब्सन र एनप्याब्सनको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।
तालाबन्दी गर्नु गलतः अध्यक्ष सम्बाहाम्फे
यसैगरी निजी आवासीय माध्यमिक विद्यालय अर्गनाइजेसन (प्याब्सन) का केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेले सरकारमा रहेका पार्टीका भातृ संगठनले विद्यालयमा गएर तालाबन्दी गर्नु गलत भएको बताउनुभएको छ ।
आज रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले तालाबन्दी जस्तो गलत कार्य रोक्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नयाँ शैक्षिकसत्र शुरु हुने बेलामा मात्रै शुल्क वृद्धिको विषय उठ्नु तर समस्या समाधानको बाटो नपाउनु दुःखद् भएको भन्दै उहाँले स्थिर सरकारलेसमेत यो समस्या समाधानको बाटो खोज्नेतर्फ लाग्न नसक्नु थप दुःखद बिषय हो भन्नुभयो ।
सरकारको सहयोगीका रुपमा निजी विद्यालयले काम गरिरहेको छ, अध्यक्ष सम्बाहाम्फेले भन्नुभयो, “देशमा संघीय शिक्षाको बहस उठिरहेका बेला सरकारले निजी क्षेत्रका समस्यालाई अध्ययन गरी गलतलाई कारबाही र सहीलाई प्रोत्साहन गर्नु सक्नुपर्छ, तालाबन्दीजस्ता गलत कदमलाई सरकारले रोक्न लगाउनुपर्छ ।”
निःशुल्क शिक्षा लागू गर्ने क्रममा सरकारले चाहेमा निजी विद्यालय बन्द गर्नसक्ने र त्यसलाई निजी विद्यालयलेसमेत सहयोग गर्ने बताउँदै उहाँले निजी विद्यालयले पु¥याइरहेको योगदानको भने सरकारले मूल्यांकन गर्नुपर्नेमा जोड दिनुभयो ।
निजी विद्यालयले दिएको सेवाअनुसार शुल्क लिइरहेको दाबी गर्दै उहाँले गलतरुपमा शुल्क लिने विद्यालयलाई सरकारले कारबाही गर्नसक्ने बताउनुभयो ।