भक्तपुर १२ चैत ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्र जागिर खाने नभएर राष्ट्र निर्माण गर्ने थलो भएको बताउनु भएको छ ।
आज अखिल क्रान्तिकारीको केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले जागिरलाई केन्द्रमा राखेर शिक्षा नीति तय हुन नसक्ने बताउनु भयो ।
पोखरेलले पार्टी पिच्छेका शिक्षक संगठन नभई एउटै महासंघ मात्र भए पुग्ने औंल्याउनु भएको छ । समाजवाद निर्माणका लागि शिक्षा क्षेत्रबाट अगुवाइ गर्नुपर्ने उहाको भनाई छ ।
मन्त्री पोखरेलले अबको पाँच महिनाभित्र संविधानमा उल्लेखित शिक्षा सम्वन्धी मौलिक हक कार्यान्वयन गर्ने ऐन बनाइसक्ने दावी समेत गर्नुभएको छ ।
कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले समाजवादी शिक्षाको आधार खडा गर्न र यसै आर्थिक वर्षबाट शिक्षामा २० प्रतिशत बजेट छुट्याउन सरकारसंग माग गर्नुभएको छ ।
आइतबारदेखि सानोठिमीमा शुरु भएको क्रान्तिकारीको दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सोमबार साँझ समापन हुने उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।