काठमाण्डाै , ७ पुस । राजनीतिक दल सम्बन्धि नयाँ व्यवस्थाका कारण साना दलहरु संसदमा आफ्नो दलीय हैसियतमा नआए पनि ठूला दलसंगको सहकार्यबाट संसदमा पुग्ने देखिएको छ । त्यसैमध्येका एक भाग्यमानि सावित भए समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह ।
सिंह नेकपा माअाेवादी केन्द्रकाे सहयाेगमा फेरी संसदमा आउने भएका छन् । संसदमा राष्ट्रिय दलको मान्यता पाउन ३ प्रतिशत मत र प्रत्यक्षमा १ सिट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ ।साेहि कारण सिंहको पार्टीले नेकपा माओवादी केन्द्रसंग चुनावी सहकार्य गरेको थियो ।
माओवादीको चुनाव चिन्ह गोलाकार भित्रको हंसिया हथौडा लिएर चुनावमा गएका सिंहको नाम भने माओवादीले समानुपातिकको सुचिमा राखेको थियो । माओवादीले समानुपातिकतर्फ पाएको १७ सिट मध्ये १५ जना महिला पठाउनु पर्ने छ । बाँकी दुई सिटमा खस ब्राम्हण समुदायबाट १ र पिछडिएको क्षेत्रबाट एक गरि २ पुरुष सांसद हुने देखिन्छ ।
पिछडिएको क्षेत्रको सूचीमा १ नम्बरमा प्रेमबहादुर सिंहको नाम रहेकाले उनको संसदको यात्रा लगभग पक्का भएको हो । सिंहको पार्टी दोश्रो संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ एक सिट जितेर संसदमा पुगेको थियो । एक सिट लिएर संसदमा गएका अध्यक्ष सिंह पटक पटक मन्त्रि बन्न सफल भएका थिए ।
त्यति मात्र हैन सिंह खानेपानी तथा सरसफाइमन्त्री भएकै बेला निर्वाचन आयोगले समाजवादी जनता पार्टीको दर्ता खारेज गरेको सूचना राजपत्रमा प्रकाशित गरेकाे थियाे । निर्वाचन आयोगले तीन वर्षदेखि आय–व्यय विवरण पेस नगरेको भन्दै २३ फागुन ०७२ मा सिंहको पार्टीसहित १५ दलको दर्ता खारेजीको निर्णय गरेको थियो।
तर पछि सर्वोच्च अदालतले दर्ता खारेज गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश दियाे । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ को दफा ३१ (५) मा ‘समानुपतिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनबाट प्रतिनिधित्व गराउनुपर्ने महिलाको संख्या निर्धारण गर्दा त्यस्तो दलको तर्फबाट पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको कम्तिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरि निर्धारण गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ । त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली २०७४ को नियम ४०(४) र प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ को दफा ३१(६) मा ‘सिट संख्याको कम्तिमा ४.३ प्रतिशत पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरि संख्या निर्धारण गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ । यहि ब्यावस्थाका कारणा सिंह यसपटक माअाेवादीकाे चुनाव चिन्हमा निर्वाचनमा हाेमिएका थिए ।