नागी :कृषिदेखि सूचना प्रविधिसम्म आत्मनिर्भर गाउँ

नागी :कृषिदेखि सूचना प्रविधिसम्म आत्मनिर्भर गाउँ

  • शुक्रबार, मंसिर २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

बेनी, म्याग्दी, २९ मंसिर ।  धौलागिरि अञ्चलमा नै सबैभन्दा पहिला इन्टरनेट पुगेको सामाजिक अभियन्ता महावीर पुनको गाउँ कृषिदेखि सूचना प्रविधिसम्म आत्मनिर्भर बनेको छ ।

पच्चीस वर्ष अगाडि अमेरिकाबाट उच्च शिक्षा हासिल गरेर नेपाल फर्किनुभएका महावीर पुनले गृहजिल्ला म्याग्दीको राम्चेस्थित नागीमा ताररहित इन्टरनेटसहित शिक्षा, स्वास्थ्य कृषि, पशुपालन, पर्यटनलगायतका क्षेत्रमा काम गरेर गाउँलाई आवश्यक पर्ने आधारभूत सुविधा उपलब्ध गराई नागीलाई आत्मनिर्भर बनाउन सफल हुनुभएको हो ।

विश्वभर डिजिटल साक्षरता अभियन्ता भनेर चिनिने पुनले कृषि, पशुपालन, पर्यटनलाई समेत उत्तिकै महत्व दिनुभएको छ । नागी अहिले कृषि, पशुपालन, पर्यटन, सञ्चार, स्वास्थ्यसहितका क्षेत्रमा आत्मनिर्भर छ ।

“महावीर गाउँ प्रवेश गरेपछि धेरै परिवर्तन भएको छ, गाउँका धेरैजसो उत्पादनमुखी क्षेत्रमा पुन सक्रिय हुनुहुन्छ”, हिमाञ्चल उच्च माविमा शिक्षक कृष्ण पुनले भन्नुभयो ।

उहाँका अनुसार विद्यालयमा इन्टरनेट, कम्प्युटर शिक्षा, काठमाडौँमा रहेको मोडेल अस्पतालको सेवा गाउँमै उपलब्ध गराउने गरी टेलिमेडिसिन सेवा, महिलालाई च्याउ खेती, सिलाइबुनाइ तालीम, खरायो, माछापालन, हाते कागजको उत्पादन, चौँरीपालन, सामुदायिक लज, पदमार्ग विस्तारसहित विभिन्न क्षेत्रमा नागीवासीको सहभागितामा पुनले काम गरिरहनुभएको छ ।

परनिर्भरताको अन्त्य गर्न गाउँमा सम्भावना रहेका र आवश्यकतालाई गाउँमै उत्पादन गरी पूर्ति गर्नुपर्छ भन्ने अभियान सञ्चालन गरेका महावीरले दुई दशकमा आधुनिक कृषिसहित महिलाको जीवनस्तरमा समेत परिवर्तन ल्याउन सफल हुुनुभएको स्थानीयवासीले बताएका छन् । “महिलालाई चुलोचौकोबाट बाहिर ल्याएको नै उहाँले हो, हामीले अहिले राम्रो कमाइरहेका छौँ”, महिला अगुवा राममायाँ पुनले भन्नुभयो ।

श्रीमान्ले विदेशमा गरेको आम्दानीभन्दा धेरै गाउँमै उत्पादन गरेको अल्लोको कपडा, झोला, जामसहितका कृषि उत्पादनको कमाइ दोब्बर भएको समेत पुनको भनाइ छ । महिलाले उत्पादन गरेका सामग्रीलाई समेत स्वदेश तथा विदेशमा बजारीकरण गर्नसमेत महावीरले सहयोग गरेपछि हरेक वर्ष उत्पादनको क्षमता विस्तारका साथै गाउँभर रहेका महिलालाई तालीमसहितका गतिविधिमा समेत महिला अगुवा सक्रिय छन् ।

महिलाका अनुसार महावीरले शुरुमा उत्पादन गर्न प्राविधिक, आर्थिक सहयोग गर्ने निकायका साथै तालीमसहितका सीपमूलक गतिविधिमा सहयोग गर्ने र महिला सक्षम भएपछि बजारीकरणमा सहयोगी भूमिका निर्वाह गर्ने गरेको बताएका छन् ।

“गाउँमा आएका विदेशी पर्यटकसमेत दंग परेर फर्कन्छन् । महिला आत्मनिर्भर भए समाज नै बन्छ भन्ने सुनेका थियौँ, यहाँ प्रयोग भइरहेको छ”, एक महिलाले भनिन् । अमेरिकामा उच्च शिक्षा हासिल गरेर स्वदेश फर्किएलगत्तै गाउँ पुगेका महावीरले करिब साढे दुई दशकमा गाउँसहित नेपालका विभिन्न दुर्गम जिल्लामा इन्टरनेटसहितका सेवा विस्तार गर्नुभएको छ ।

गाउँबाट आलु, च्याउ, अल्लोका कपडा, झोला, जाम, हातेकागज स्वदेश तथा विदेशमा निर्यात हुन्छन् । सबैजसो समुदायको सक्रियतामा सञ्चालन भइरहे पनि आफ्नो क्षमताअनुसार व्यक्तिगतरुपमा आलुखेतीसहितका उत्पादनमुखी कार्यसमेत भइरहेको छ । यहाँबाट एक वर्षमा रु एक करोड बराबरको आलु निर्यात हुन्छ ।

पुनले आफ्नो जन्म गाउँका साथै छिमेकी शिख गाविसको पाउद्वार माविलाई सहयोग गर्नुका साथै समुदायलाई समेत आत्मनिर्भर बनाउन विभिन्न पेशामा सक्रिय बनाउनुभएको छ ।

पर्यटकीय स्थलसमेत रहेको पाउद्वारको खोप्रामा रहेको सामुदायिक लजका साथै हिमाञ्चल उच्च मावि र पाउद्वार माविको संयुक्त लगानीमा चौँरीपालन, चिज उद्योग सञ्चालन गरी शिक्षकको तलबसहित भौतिक पूर्वाधारमा लगानी गरिरहेका छन् ।

पाउद्वार मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका भीमप्रसाद तिलिजाले महावीरको प्राविधिक सहयोगमा मनाङबाट ल्याइएको चौँरीको आलो रगतसहित मासुका साथै सामुदायिक लजको आम्दानीले विद्यालय सञ्चालन गर्न सहज भएको बताउनुभयो ।

“उहाँले हामीलाई सिकाउनुभयो । हामीले त्यसलाई प्रयोग ग¥यौँ”, तिलिजाले भन्नुभयो । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्यासमेत ह्वात्तै बढेपछि आम्दानीसमेत बढेको तिलिजाको भनाइ छ ।

आविष्कार केन्द्र सञ्चालन गर्न आफूले २५ वर्ष नेपालमा प्रयोग गरेको विधि तथा देशलाई समृद्ध बनाउन आवश्यक पर्ने क्षेत्रको पहिचान गरेको महावीर पुनले बताउनुभएको छ ।

“म नेपाल फर्किएको २५ वर्ष भयो, यो अवधिमा मैले गरेका कामले पनि अब सहयोगी भूमिका निर्वाह गर्छ”, पुनले भन्नुभयो । विज्ञान र प्रविधिको प्रयोगसहित नेपाली जनतालाई आर्थिकरुपमा सम्पन्न बनाउन आवश्यक पर्ने सबै क्षेत्रको पहिचान गरी केन्द्रको स्थापनामा जुटेको पुनको भनाइरहेको छ ।

पुनको केन्द्रमार्फत सीप र उत्पादनको क्षेत्र पहिचान गरी दक्ष बनाएर एकल वा सामूहिक लगानी गर्न सक्ने बनाउने लक्ष्य रहेको छ । अहिलेसम्म समुदाय र गाउँ आत्मनिर्भर भए पनि अब सिंगो देशलाई विकसित राष्ट्र बनाउनु आवश्यक रहेको पुनको भनाइ छ ।

गाउँमा निमावि र माध्यमिक तहका विद्यार्थीलाई कृषि, पशुपालनसहित कम्प्युटरसम्बन्धी प्रयोगात्मक अभ्याससमेत गराउने गरिन्छ । पुन शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा योगदान पु¥याएबापत सन् २००७ मा एशियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कारबाट समेत सम्मानित हुनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी