काठमाडौं, २१ कात्तिक । चलचित्र विकास बोर्ड विगत ६ महिनादेखि नेतृत्वविहीन छ । गत जेठमा राजकुमार राईको कार्यकाल सकिएपछि रिक्त भएको बोर्डमा चलखेलका कारण अध्यक्ष नियुक्त गरिएको छैन ।
सञ्चार मन्त्रालयले अध्यक्षका लागि आवेदन मागेको छ । अन्तर्वार्ता लिएकोसमेत तीन साता भइसकेको छ । तर, पनि नजिता प्रकाश गरिएको छैन । स्रोतका अनुसार बार्गेनिङका कारण नतिजा प्रकाशन नगरिएको हो ।
अध्यक्षका लागि उज्जवल घिमिरे, सुचित्रा श्रेष्ठ, नरेश केसी, निकिता पौडेल, होतराज शर्मा, सुदीपकुमार रेग्मी, आयुष रिजाल (गोपाल), विशाल श्रेष्ठ, आलोककुमार तिवारी, मनिष पण्डित, योगेश घिमिरे (टिकाराम), चोपेन्द्रसागर पराजुली, सुष्मा थापा कार्कीले आवेदन दिएका थिए । उनीमध्ये पैसावाल व्यक्तिहरुले लाखौंको प्रस्ताव लिएर कांग्रेस नेताहरुको धाइरहेका छन् । जसकारण सञ्चारमन्त्री मोहन बस्नेतले निर्णय गर्न सकेका छैनन् ।
अर्कातर्फ बोर्डभित्रको चलखेल पनि नियुक्तिको अर्काे कारण हो । हाल मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई निमित्त अध्यक्षको जिम्मेवारी दिइएको छ । ढकालले मन्त्रीलाई कमिसनको लोभ देखाएका छन् । बक्स अफिस र स्टुडियो निर्माणका नाममा अहिले बोर्डभित्र चलखेल भइरहेको छ । ढकालले दोलखामा निर्माण गर्ने भनिएको स्टुडियो निर्माणका लागि मात्र तीन करोड छुट्याइएको छ । तर, त्यो पैसा कामै नगरी रिसर्च र अनुगमनका नाममा सिध्याउन लागिएको छ ।
त्यस्तै बक्स अफिस निर्माणका लागि बोर्डले टेण्डर गरिसकेको छ । जसको केही कम्पनीसँग सेटिङ मिलिसकेको छ । तर, निर्णय भइसकेको छैन । सोही कमिसनका लागि मन्त्रीले बोर्डमा अध्यक्ष नियुक्त गर्न नसकेको स्रोत बताउँछ । – दृष्टि साप्ताहिक