काठमाडौं, कात्तिक २ ।
हरेक वर्षजस्तै यसपटकको तिहारमा पनि सिस्नुपानी नेपालले हाँस्यव्यंग्य देउसी कार्यक्रम गरेको छ । बुधबार साँझ प्रज्ञा भवन कमलादीमा सिस्नुपानी नेपालका कलाकारहरुले देउसी कार्यक्रम गरेका हुन् ।
सधैँजस्तै यसपटक पनि कलाकारहरुले देशको राजनीतिक तथा सामाजिक क्षेत्रका विकृति विसंगतिलाई देउसीको माध्यमबाट व्यंग्य गरेका छन् ।
देउसीमा प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली, एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहार, एमाले र माओवादीको गठबन्धन, काठमाडौंको मेयरको सपनालगायत अरु समसामयिक विषयमा व्यंग्य प्रहार गरिएको छ ।
सिस्नुपानीको देउसीमा समावेश केही टुक्काहरु यस्ता छन् :
देउवाजीले ब्याटिङमा शतक हान्लान् जस्तो छ
मन्त्रिमण्डल बोइलरको बथान जस्तो छ
समाजवादी बाटोमा देउवा ईँटा थप्दैछन्
खुमबहादुर टिकट बाँड्छन्, देउवा थाप्दैछन्
मै हुँ भन्थ्यो दिल्ली पनि अहिले हेर्या हेर्यै भो
देउवाजीको कालो बोको छेर्या छेर्यै भो ।
केपी ओली, प्रचण्ड मिले भन्छन् रातारात
हिजोसम्म काटाकाट, आज चाटाचाट
एमाले र माओवादीको लगनगाँठो बरिलै
दुई दिनको रामछायाँ कि जुनी भरिलाई
गर्मी हुँदा रुखतिर, जाडो हुँदा घामतिर
छलाङ मार्दै प्रचण्ड पुग्लान् धामतिर ।
काठमाडौंमै सिंगापुर देखियो
फोहोरले फ्लाइओभर छेकियो
मोनोरेल मनमनै चढियो
चिप्लेर झण्डै लडियो
मेट्रो पनि चलेछ, मोनोरेल नि गुडेछ
चढी आयौं ठमठम ।
हावा हाने फुस्स फुस्स एउटै अण्डा पारेनन्
के को विद्या के को सुन्दर माखै मारेनन्
बेलाबेलै खप्की खान्छन् प्याच्चपुच्च बोलीले
दुई नम्बरमा झण्डै चिम्टा बोके ओलीले
गुन्डा डनले टिकट पाए एमालेमा पसेर
चरी घैंटे रुँदा हुन् माथि बसेर ।
दिल्लीले निम्तो नगरोस्
चुनावको मिति नसरोस्
संविधान पूर्ण सफल होओस्
समृद्धि यात्रा डबल होओस् ।
https://youtu.be/rDg-MYdOdCw