काठमाण्डौ , ७ असोज ।
वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि भारत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तामिलनाडु ए विरुद्ध ३ सय १२ रनको उच्च चुनौती प्रस्तुत गरेको छ ।
चेन्नईस्थित मुरुगाप्पा क्रिकेट मैदानमा टस जितेको नेपाली टोलीले शरद भेषावकरको शतक मदतमा ५ विकेट गुमाएर ३ सय ११ रनको सम्मानजनक स्कोर तयार पारेको हो ।
नेपालका लागि सागर पुनले ७७ रन जोडे । ज्ञानेन्द्र मल्ल ३१ रन बनाएर पभेलियन फर्के । सामान्य सुरुवात गरेको नेपालका लागि भेषावकर र पुनले दोस्रो विकेटका लागि शतकिय साझेदारी गर्दै टोलीलाई सम्मानजकन स्कोरमा र्पुयाएका हुन् । भरपर्दा ब्याट्सम्यान विनोद भण्डारीे आजपनि क्रिजमा टिक्न सकेनन् ।
चौथो विकेटका रुपमा पभेलियन फर्कनुअघि उनले ७ रन बनाए । बिष्फोटक ब्याटिङ गरेका दिपेन्द्रसिंह ऐरीले ३७ बलमा ७३ रन जोडे । सोमपाल कामी १० रनमा अबिजित रहे । ३ सय १२ रनको चुनौती सहित तामिलनाडुले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
नियमित कप्तान पारस खड्का आराममा रहेकाले नेपाली टोलीको कमानी आज मल्लले सम्हालेका छन् ।
वल्र्ड क्रिकेट लिग च्याम्पियन्सिप अन्तर्गत हङकङ बिरुद्ध आगामी असोज २७ र २९ गते हुने छैटौँ चरणको खेलका लागि नेपाली टोली साताअघिबाट भारत भ्रमणमा छ ।