काठमाडौ ७ असोज ।
तेस्रो चरण अन्तरगत प्रदेश नम्बर दुईमा गत सोमबार भएको स्थानीय तह निर्वाचनको मतगणना आजपनि जारी छ । निर्वाचन भएका १ सय ३६ स्थानीय तहमध्ये हालसम्म १०८ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।
हालसम्मको गणना अनुसार शिर्षस्थानमा रहेको नेपाली कांग्रेसले ३३ स्थानमा जीत हासिल गरेको छ । प्रदेश नम्बर २ मा २१ स्थान जितेर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल दोस्रो स्थानमा छ ।
पहिलो र दोस्रो चरणमा लिड गर्न नपाएको माओवादी केन्द्रले नतिजामा सुधार गर्दै अहिलेसम्म १९ स्थानमा विजय हासिल गरेको छ ।
१७ वटा स्थानीय तहमा राष्ट्रिय जनता पार्टीले जितेको छ । नेकपा एमाले १२ स्थानमा विजयी भएको छ । यस्तै ३ स्थानको प्रमुख पद फोरम लोकतान्त्रिकले जितेको छ भने एक स्थानको प्रमुख पदमा नेपाली जनता दल र एक स्थानमा नयाँशक्ति पार्टी विजयी भएको छ ।
मतपरिणाम आउन बाँकी स्थानीय तहमध्ये ८ स्थानमा कांग्रेसको अग्रता छ भने ५ स्थानमा एमाले र ८ स्थानमा माओवादी केन्द्र अगाडि छ । ४ स्थानमा राष्ट्रिय जनता पार्टीले अग्रता लिएको छ ।
संघिय समाजवादी फोरमले ३ स्थानमा अग्रता लिएको छ ।
प्रदेश नम्बरको दुईको एकमात्र महानगर विरगन्ज महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायम छ ।
कांग्रेसका अजय द्धिवेदी ६४०३ मतसहित शिर्ष स्थानमा हुनुहुन्छ भने उहाँलाई संघिय समाजवादी फोरमका विजयीकुमार सरावगीले ६१८१ मतसहित पछ्याइरहनु भएको छ ।
तेस्रो स्थानमा रहेका राजपाका उमेदवार राजेशमान सिंहले ४७४१ मत पाउनु भएको छ । नेकपा माओवादी केन्द्रका रहबर अन्सारीले ३४२१ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका बशरुद्धिन अनसारीले ३१३७ मत पाउनु भएको छ ।