काठमाडौ ३ असोज ।
तेस्रो चरण अन्तरगत प्रदेश नम्बर दुईमा हिजो भएको स्थानीय निर्वाचनको मतगणना कार्य सुरु भएको छ । निर्वाचन भएका १ सय ३५ स्थानीय तहमध्ये ७० स्थानमा गएरातिदेखि मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
बाँकी ६५ स्थानमा पनि सर्वदलीय बैठक बसी मतगणना सुचँरु गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । राजविराज नगरपालिकाको वडा नं. १५ मा उमेदवारको निधन भएपछि हिजो मतदान हुन सकेन ।
राष्ट्रिय जनता पार्टीका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवारको निधन भएपछि रोकिएको मतदान पर्सी असोज ५ गते हुनेछ । प्रदेश नम्बर दुईमा रहेको एक मात्र महानगर विरगन्ज महानगरपालिकाको मतगणना सुचारु गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्ने तयारी भएको छ ।
यस्तै धनुषाको जनकपुर, कलैया र जितपुर सिमरा गरी तीन वटै उपमहानगरपालिकाको केहीबेरपछि मतगणना सुचारु गर्ने तयारी भएको जनाएको छ । बाराको १६ वटा स्थानीय तहमध्ये ७ वटामा स्थानीय तहको मतगणना केहीबेर अघिबाट सुरु भएको छ ।
सप्तरीको सप्तकोशी गाउँपालिकासहित धेरैजसो स्थानीय तहको मतगणना सुचारु भएको जनाइएको छ । यस्तै सिरहा र सप्तरीमा पनि गएराति देखि मतगणना कार्य जारी रहेको आयोगले जनाएको छ ।
सिरहाको कल्याणपुर नगरपालिका, बाराको बारागढी नगरपालिका, धनुषाको गणेशमान चारनाथ र क्षिरेश्वरनाथ नगरपालिकाको गएरातिबाट नै मतगणना जारी छ । रौतहटको १८ वटा तहमध्ये १२ वटा तहको मतगणना सुरु भएको छ ।
सर्लाहीका २० मध्ये केहीमा राति एक बजेदेखि मतगणना सुरु भएको छ भने केही सुचारु गर्ने सम्बन्धमा छलफल गर्न सर्वदलीय बैठक बस्ने तयारी भएको छ । सर्लाहीका २० स्थानीय तहमध्ये १० वटा स्थानमा मतगणना भइरहेको छ ।
अहिलेसम्म महोत्तरीका ९ वटा स्थानीय तह, धनुषाको मिथिला, बिहारी र गणेशमान चारनाथ नगरपालिका, सप्तरीको सप्तकोशी गाउँपालिका, रौतहटको गौर नगरपालिकाको मत गणना सुरु भएको छ ।
यस्तै सिरहाको लहान, बाराको सिम्रौनगढ नगरपालिकामा पनि मतगणना सुचारु भएको छ । पर्साको १४ स्थानीय तहमध्ये वीरगंज महानगरपालिकाबाहेक अन्य स्थानीय तहमा मतगणना जारी रहेको छ ।