काठमाडौं, असोज १ ।
एसीसी यु १९ एसिया कप अन्तर्गतको पूर्वी क्षेत्रको छनौट खेलको उपाधि नेपालले कब्जा गरेको छ । मलेसियाको किन्रारा मैदानमा आज विहान भएको फाइनलमा हङकङलाई पाँच विकेटले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो ।
हङकङले प्रस्तुत गरेको ७७ रनको सामान्य लक्ष्य सहित ब्याटिङमा उत्रेको नेपालले १४ ओभर ४ बलमा पाँच विकेट गुमाई पुरा गरेको हो ।
नेपालका लागि प्रनित थापा मगरले दुई छक्का सहित नटआउट १९ रन, सन्दिप सुनारले १९, अनिल कुमार साहले १६, दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए ।
हङकङका लागि हरप्रतीत सिंहले ३ विकेट र जाथवेदले २ विकेट लिए । यसअघि टस हारेर ब्याटिङमा उत्रिएको हङकङले ३२ ओभर १ बलमा आफ्ना सबै विकेट गुमाउँदै ७६ रन बनाएको थियो ।
हङकङका लागि हरप्रीत सिंहले ४५ बलमा २० रन, जाथवेदले ३२ बलमा १६ रन र वकास खानले ३८ बलमा १५ रनको योगदान दिए । हङकङका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि शाहब आलम र सन्दिप लामिछानेले तीन–तीन विकेट र अनिल कुमार साह र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिएका छन् । आजको जितसँगै मलेसियामै हुने यु १९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाल छनौट भएको छ ।