रुकुम, ३१ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो संविधानसभाको निर्वाचनमा पहिलो पार्टी रहेको माओवादी केन्द्र आफ्नै अहंकारले तेश्रो बनेको बताउनुभएको छ ।
पूर्वी रुकुमको सिस्ने गाउँपालिकाको रुकुमकोटमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो –“जनयुद्धमा जनताकाबीचमा हामी थियौँ, उत्पीडित वर्गको साथी बनेर अघि बढ्यौँ, शान्ति प्रक्रियामा आइसकेपछि संगठनले जसरी जनताका बीचमा जानुपर्ने हो, त्योअनुरुप जान सकिएन, फलस्वरुप स्थानीय तहको चुनावमा सन्तोषजनक परिणाम आएन, तर पनि हाम्रो ऐजेण्डा जितेको छ ।”
अध्यक्ष दाहालले “आफूहरुले चलाएको जनसत्ताको वैधानिक रुप नै अहिलेको स्थानीय सरकार भएको छ, कसैले माने पनि नमाने अहिलेको स्थानीय तह हिजोका जनसत्ता नै हुन्, तपाईहरु राम्रोसँग बुझ्नुहोला, अनि काम पनि त्यसरी नै गर्नुहोला,” भन्नुभयो ।
“अब काँग्रेस, एमालेले जिते पनि संघीयता खारेज गर्छु भन्न सक्ने अवस्था छैन”– उहाँले भन्नुभयो, “एकपछि अर्को विभाजनको प्रक्रियाबाट पार्टी गुज्रिएकाले पनि जनतामा निरास हुनसक्ने भएकाले अब सबै माओवादी शक्ति मिल्नुपर्ने समय आएको छ ।”
अध्यक्ष दाहालले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने दावी गर्दै पछिल्लो समयमा मधेश, तराई, पहाड र हिमाल सबैतिर माओवादी केन्द्रमा फर्कनेको ठूलो लहर रहेकाले अब हुने निर्वाचनमा यो ठूलो पार्टी हुने बताउनुभयो ।
“केही समय पहिले एउटा दलका ठूलै नेताले रुकुममा लोकतन्त्र अझै आएको छैन भन्नुभयो तर म भन्छु रुकुममा असली लोकतन्त्र आएको छ,” उहाँले भन्नुभयोे, “रुकुमेली जनताले सिङ्गो नेपाललाई उत्साहित बनाएको छ, अहिले तपाईहरुले स्थानीय सरकार चलाइरहनुभएको छ, दम्भ नदेखाउनुहोला ।”
अध्यक्ष दाहालले पूर्वी रुकुमको आर्थिक, सामाजिक र रानीतिक विकासका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने घोषणा पनि गर्नुभयो ।
प्रचण्डले रोल्पाको विकासमा आफू सदैव प्रतिवद्ध रहेको बताउनु भयो ।
उहाँलेथबाङ गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन पहल गर्ने प्रतिबद्धता पनि जनाउनु भयो ।
पहिलो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर दुई थबाङ क्षेत्रबाट निर्वा्चित प्रचण्डले थबाङमा तटबन्ध निर्माण, १५ शैय्याको अस्पताल निर्माण लगायतका कार्यलाई अगाडि बढाउन आफूले पहल गर्ने बताउनु भयो ।
थबाङलाई छुट्टै गाउँपालिका बनाउने र थबाङमै केन्द्र राख्ने भनेर नेकपाकै केन्द्रस्तरका नेताहरुले माग राखेको स्मरण गर्दै प्रचण्डले आफैले खनेको बाटोमा उल्टो हिड्ने दुस्साहस गरेको आरोप लगाउनु भयो ।
जनयुद्धका क्रममा थबाङबाटै जनसरकारको घोषणा गरेर जनसत्ता सञ्चालन गरेको स्मरण गर्दै माओवादी अध्यक्ष प्रचण्डले अहिलेको सरकार पनि जनसरकार नै भएको बताउनुभयो । ‘हिजो पनि हामीले जनसरकार चलाएका थियौं, तर त्यसबेला राष्ट्रियरुपमा मान्यता पाएको थिएन’ प्रचण्डले भन्नुभयो ‘अहिले जे बनेको छ यो पनि जनसरकार नै हो ।’