काठमाडौ ३१ भदौ ।
निर्वाचन आयोगले प्रदेश नम्बर २ का स्थानीय तहमा आजपनि मतदाता परिचय पत्र वितरण गर्दैछ । हिजो झण्डै ३३ प्रतिशतले मतदातालाई परिचय पत्र वितरण गरेको आयोगले आज भोली बाँकी परिचयपत्र वितरण गर्ने जनाएको छ ।
परिचय पत्र लिन जाँदा परिचयपत्र बनाउन खिचिएको फोटोको रसिद लिएर जान आयोगले आग्रह गरेको छ । रसिद नभए नागरिकता वा आफ्नो परिचय खुल्ने कुनै कागज लिएर मतदान केन्द्रमा जानुपर्ने प्रवक्ता नवराज ढकालले बताउनुभयो ।
मतदाता परिचय पत्र लिन पुगेकालाई आयोगले भोट हाल्ने तरिका पनि सिकाउने भएकाले सकेसम्म परिचय पत्र लिन आफै जानपनि उहाँले आग्रह गर्नुभयो ।
यसैबीच मौनअवाधिको समयमा निर्वाचनको प्रचार नगर्न आयोगले आग्रह गरेको छ । सोमबार हुने निर्वाचनका लागि मौन अवधि सुरु भइसकेकाले अब निर्वाचनका लागि कुनै पनि प्रकारको प्रचार प्रसार नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
विशेषगरी सामाजिक संजालमा पहिलेका पोष्ट फेरि सेयर गर्ने गरेको भेटिएकाले त्यसो नगर्न आयोगका प्रवक्ता नवराज ढकालले सबैसँग आग्रह गर्नुभयो ।
आयोगको छुट्टै टोलीले सामाजिक संजालको अनुगमन गरिरहेकाले कसैले पनि चुनाव केन्द्रित सामग्री पोस्ट गरेको भेटिए निर्वाचन ऐन अनुसार कारवाही गरिने पनि उहाँले बताउनुभयो ।
सोमबार २ नम्बर प्रदेशमा हुने स्थानीय तह चुनावका लागि शुक्रबार राति १२ बजदेखि मौन अवधि सुरु भएको हो । मौन अवधिमा सामाजिक संजाल फेसबुक, भाइबर तथा एसएमएसबाट पनि भोट नमाग्न तथा चुनाव प्रचार नगर्न निर्वाचन आयोगले सचेत गराएको छ ।