धरान , २९ भदौ ।
प्रथम नेपाल च्याम्पियन राष्ट्रिय खुल्ला शारिरिक सुगठन प्रतियोगिताको उपाधि झापाका रामबहादुर दाहालले जितेका छन् ।
धरानमा सम्पन्न राष्ट्रिय खुल्ला शारिरिक सुगठन प्रतियोगिताको उपाधि जित्दै दाहालले नगद राशी १ लाख सहित ट्रफि, व्यानेट र एक थान जगर मेसिन प्राप्त गरे ।
गतवर्षको मिस्टर नेपालको उपाधि जितिसकेका उनले ७० केजी तौल समुहबाट प्रथम हुँदै अलओभर राउण्डमा २० जनालाई पछि पार्दै उपाधि माथि कव्जा जमाएका हुन् ।
उपाधि जितेपछि दाहालले भने, ‘मेरो लक्ष्य क्रमस पुरा हुँदै गएको छ । उनले युवा पुस्ता शारीरिक सुगठन तर्फ आकर्षित हुन थालेकाले उनीहरुका लागि प्रेरणाको श्रोत बन्न र शारीरिक सुगठनको विकासमा ध्यान दिने धारणा राखे ।
धरानको सभागृहमा बुधबार भएको प्रतियोगितामा आयोजक एलाइनेट जिमका खेलाडी रमेश कार्की ६५ केजी तौल समुहबाट अलओभर राउण्डमा फस्र्ट रनर अप भए । उनले नगद ५० हजार रुपैयाँमा चित्त बुझाए । सोही तौल समुहबाट आएका एआरओ जिमका विकास धिमाल सेकेण्ड रनरअप मात्र भए । उनले नगद ४० हजार रुपैयाँ हात पारे ।
बुटवलबाट ५५ केजी तौल समुहबाट सहभागी सुनिल आले थर्ड रनर अप हुँदै मस्ट इम्प्रुभर टाइटलको ५ हजार पुरस्कार सहित नगद ३५ हजार रुपैयाँ हात पारे । प्रतियोगितामा बेस्ट पोजरको टाइटल मनिकुमार राई, मोस्ट मस्कुलरको टाइटटल सुकदेव कार्की घोषित भए । उनीहरुले जनही नगद पाँच हजार प्राप्त गरे ।
झापा, मोरङ, सुनसरी, राजविराज, काठमाण्डौं, पोखरा लगायतका जिम क्लबबाट सहभागी मध्ये विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बुले ट्रफि तथा नगद र प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा विभिन्न खेलकुद क्षेत्रमा योगदान दिएका अग्रजहरुलाई सम्मान र अभिनन्दन समेत गरिएको थियो । राखेपका सदस्य सचिव विष्टलाई अभिनदन गरिएको थियो ।
शारीरिक सुगठनका तर्फबाट राष्ट्रिय रेफ्री राजभगत प्रधानाङ्ग, फुटबल तर्फ एन्फाका उपाध्यक्ष किशोर राई, व्यावसायी तर्फ डम्बर तामाङ र राजेन्द्र राउतलाई सम्मान पत्र प्रदान गरिएको थियो ।