काठमाडौं, भदौ २५ ।
आगामी असोज २ गतेका लागि तय भएको प्रदेश नम्बर २ तेस्रो चरणको स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश नम्बर २ को ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुने चुनावको तयारी अन्तिम चरणमा पुगेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार मतदातका लागि आगामी बिहीबारसम्ममा सबै मतदान अधिकृत सहितका कर्मचारी मतदान केन्द्रमा पुग्नेछन् । आयोगले हरेक केन्द्रमा कम्तिमा पनि ६ जना कर्मचारी खटाउन लागेको उहाँले जानकारी दिनुभयो ।
आयोगले प्रदेश नम्बर २ मा ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकेको छ । यस्तै आयोगले चुनावमा सहभागी हुने सबै राजनीतिक दललाई हिजो चुनाव चिन्ह दिएपछि उम्मेदवारले चुनावी प्रचारप्रसारलाई अझै तीब्र बनाएका छन् ।
यसैविच प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न आगामी मंगलबारदेखि प्रदेश नम्बर २ का जिल्लामा जानुहुने भएको छ ।
नेपाली कांग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवा भोली काठमाडौंबाट वीराटनगर हुँदै प्रदेश नम्बर २ का जिल्ला जाने बताइएको छ ।
उहाँ आगामी शुक्रबार वीरगञ्ज हुँदै काठमाडौं फर्किने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।
४ दिनमा ८ वटै जिल्लामा हुने चुनावी सभालाई संबोधन गर्ने तय भएपनि कुन दिन कहाँको सभालाई संबोधन गर्ने भन्ने कार्यक्रम तय भइ नसकेको उहाँले बताउनुभयो ।