काठमाडांै, भदौ २२ ।
६ दिने चीन भ्रमणका लागि हिजो बेइजिङ पुग्नु भएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै हुनुहुन्छ ।
महराले आज बेइजिङमा समकक्षी वाङ यीसँग भेट गर्ने कार्यक्रम छ । सो क्रममा दुई देशबीचको आपसी सम्बन्ध तथा नेपाल चीनबीच पारवहन सम्झौता कार्यान्वयनका लागि प्रोटोकल तय गर्ने विषयमा छलफल हुने परराष्ट मन्त्रालयले जनाएको छ ।
बेइजिङ बसाईका क्रममा परराष्ट्रमन्त्री महराले त्यहाँ प्रधानमन्त्री ली खछ्याङसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । भेटका क्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट चीनीयाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो हस्तान्तरण गर्ने कार्यक्रम समेत छ ।
महराले रेलमार्गको काम छिटो अघि बढाइ नेपालको विकासमा सहयोग गर्न चिनियाँ प्रधानमन्त्रीसँग आग्रह गरिने उहाँको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको चीन भ्रमणबारे पनि छलफल हुने बताइएको छ ।
यस्तै उहाँले अन्य चिनीयाँ नेताहरुसँग पनि छुट्टा छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । महराले चाइना फरेन अफेयर्स युनिभर्सिटीमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुने र फर्कने क्रममा गोन्जाओमा ६ महिनाअघि खुलेको नेपाली महावाणिज्य दूतावासको उद्घाटन गर्ने कार्यक्रम समेत छ ।