काठमाडौ ,१६ भदौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र संघको निर्वाचन मंसिरमै सम्पन्न हुने बताउनुभएको छ । प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रदेश र संघको निर्वाचन तोकिएकै समयमा हुने बताउनु भएको हो ।
मुलुक संविधान कार्यान्वयनतर्फ उन्मुख भइसकेकाले स्थानीय तह अन्तर्गत दुई चरणको निर्वाचन सम्पन्न भइसकेको र अब तेस्रो चरणमा पनि सम्पन्न हुने तयारी भइरहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले आफ्नो भ्रमणका बेला कञ्चनपुरको महाकाली नगरपालिकामा सुख्खा बन्दरगाह निर्माण, ७ नम्बर प्रदेशमा प्राविधिक शिक्षालय विस्तार, दार्चुला र डडेल्धुरा जिल्लामा पर्ने महाकाली नदीमा भारतका तर्फबाट पक्की पुल निर्माणका लागि सम्झौता भएको बताउनुभयो ।
यस्तै, पञ्चेश्वर परियोजनाको एक महिनाभित्र डिपिआर तयार गरेर योजना अघि बढ्ने भन्दै प्रधानमन्त्री देउवाले यसले सुदूरपश्चिम सँगै समग्र देशको आर्थिक विकासमा टेवा पुग्ने दावी गर्नुभयो ।