कैलाली, भदौ १५ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसीरका लागि तय भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा होमिन सबैलाई आग्रह गर्नुभएको छ ।
महाकाली नदीमा निर्माण हुने चार लेनको पुलको शिलान्यास गर्न कञ्चनपुर जाने क्रममा धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री देउवाले चुनावले राजनीतिक स्थायित्व र संविधान कार्यान्वयनलाई थप टेवा र्पुयाउने उहाँले बताउनुभयो ।
यस्तै प्रधानमन्त्री देउवाले आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसले अन्य पार्टीसँग तालमेल गर्ने विषयमा संवाद गरिरहेको बताउनु भयो ।
प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणले दुई देशबिचको सम्बन्धलाई अझै प्रगाढ बनाएको दाबी गर्नुभयो । प्रधानमन्त्रीले भारतसँग भएको समझदारीअनुरुप पञ्चेश्वर परियोजनाका साथै, कञ्चनपुरमा ड्राइ पोर्ट (सुख्खा बन्दरगाह) निर्माण र गौरीफण्टा नाकाको स्तरोन्नति गर्ने काम कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभयो ।
साथै महाकाली नदीमा बन्ने चार लेनको पक्की पुलले पश्चिम नेपालको मात्रै नभई देशकै समृद्धिका लागि ढोका खुल्ने उहाँले बताउनुभयो । पुल निर्माण पछि ७ नं प्रदेशको समग्र विकासमा योगदान पुग्ने उहाँको भनाई थियो ।
प्रधानमन्त्री देउवाले आज नै महाकाली नदीमा बन्ने पक्की पुलको शिलन्यान गर्ने कार्यक्रम रहेको छ । ४ लेनको ये पुल तीन वर्ष भित्र निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको छ ।