काठमाडौ : देसकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग इपिएलको प्रत्यक्ष प्रसारण एपीवान टेलिभिजनले गर्ने भएको छ। एपीवान र एभरेष्ट प्रिमियर लिग इपिएल आयोजक समिति वीच आगामी तीन वर्षसम्मको लागि प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको हो ।
सम्झौता अनुसार एभरेष्ट प्रिमियर लिगको आगामी श्रृंखलाहरु एपीवान एचडीले प्रसारण गर्नेछ । नेपालमै पहिलो पटक १२ वटा क्यामरा प्रयोग गरी प्रसारण गरिने क्रिकेट प्रतियोगिता ईपिएलमा पहिलो पटक थर्ड अम्पायरको पनि सुविधा हुनेछ । एपीवान एचडीका प्रबन्ध निर्देशक लक्ष्मी पौडेलले आधुनिक प्रविधि प्रयोग गरी अन्तराष्ट्रिय स्तरको प्रसारण मार्फत खेलकूद क्षेत्रलाई माथि उकास्ने सोच रहेको बताए ।
त्यसैगरी इपिएलका संस्थापक आमिर अख्तरले देशकै प्रख्यात टेलिभिजन एपीवान एचडीसँग जोडिन पाउनु ठूलो उपलब्धि भएको बताए । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने इपिएल राउन्ड रोविन लिगका आधारमा संचालन हुनेछ । प्रतियोगितामा ६ शहरका ६ टिमको सहभागिता रहनेछ ।
इपीएलको विजेताले २१ लाख प्राप्त गर्ने छन् । यसपटक काठमाडौं, ललितपुर, विराटनगर, भैरहवा, बीरगन्ज र पोखराको सहभागिता रहेको छ । इपिएल आगामी डिसम्बरबाट शुरु हुनेछ ।