काठमाडौँ, १४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन बुझाएको छ ।
नेपालको संविधानबमोजिम संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रसहितको प्रतिवेदन आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका अध्यक्ष कमलनारायण दासले बुझाउनुभएको हो । सो आयोग गत साउन ५ गते गठन भएको थियो ।
आयोगले बुझाएको प्रतिवेदन अनुसार अब प्रतिनिधिसभाका लागि प्रदेश नं. १ मा २८, प्रदेश नं. २ मा ३२, प्रदेश नं. ३ मा ३३, प्रदेश नं. ४ मा १८ निर्वाचन क्षेत्र हुनेछन् भने प्रदेश नं. ५ मा २६, प्रदेश नं. ६ मा १२ र प्रदेश नं. ७ मा १६ निर्वाचन क्षेत्र रहनेछन्।
आयोगले संवैधानिक व्यबस्था अनुसार प्रदेश सभाका लागि प्रतिनिधि सभाको निर्वाचन संख्याको दोब्बर हुने प्रावधान अनुरुप ३३० निर्वाचन क्षेत्रको पनि टुंगो लगाएको छ। संविधानमा आयोगले गरेको निर्णयमाथि अदालतमा प्रश्न उठाउन नपाइँने व्यबस्था छ। त्यसैले आयोगले बुझाएको प्रतिवेदन अनुसार नै क्षेत्र निर्धारण हुने छ।
बुधबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेको थियो। सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमलनरायण दासको नेतृत्वमा आयोग गठन गरेको थियो।