काठमाडौ १२ भदौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ नम्बर प्रदेशमा हुने स्थानीय निर्वाचनमा आफ्नो पार्टी जुनसुकै पार्टीसँग तालमेल गरेर अघि बढ्न सकिने बताउनु भएको छ ।
तालमेलका लागि पहिलो प्राथमिकता भने मधेसी दललाई नै दिइने उहाँको भनाई थियो । विराटनगरमा आज सन्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि मुलुकमा राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री शेरवहादुर देउवाले भारत भम्रणका क्रममा संविधान संशोधन गर्ने विषयमा दिएको अभिव्यक्ति सान्दर्भिक नरहेको उल्लेख गर्नुभयो । भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले कोशी ब्यारेजको उच्च बाँध निर्माणका बारेमा गरेको सहमतिप्रति पनि पुनर्विचार गर्नुपर्ने दाहालको भनाई छ ।
उहाँले विराटनगरमा राखिएको भारतीय क्याम्प हटाउनुपर्नेमा आफ्नो पार्टी प्रष्ट रहेको उल्लेख गर्नुभयो । पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरुलाई प्रशिक्षण दिन विराटनगर पुग्नुभएका उहाँ वुधवार काठमाडौं फर्किनु हुनेछ ।