काठमाडौं, भदौ १२ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता सर्वेन्द्रनाथ शुक्लले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतमा बोल्नुको पछाडि २ नम्बर प्रदेशका मतदातालाई प्रभावित गर्ने खेल भएको आरोप लगाएका छन् ।
सोमबार हामीसँग कुरा गर्दै उनले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर योजनाबद्धरुपमा देउवाले संशोधनबारे नयाँदिल्लीमा बोलेको जिकिर गरे ।
‘प्रधानमन्त्रीजीको संविधान संशोधनको कुरा अन्तर्राष्ट्रिय मन्चलाई प्रयोग गरेर २ नम्बर प्रदेशका मतदाताहरुलाई प्रभावित पार्ने उद्देश्यले भन्नुभएको छ’–नेता शुक्लले भने–‘त्यसलाई राष्ट्रियस्तरमा असर पार्नेभन्दा पनि मतदातालाई असर पार्नेरुपमा हामीले लिएका छौं ।’
‘भारतलाई खुसीपार्ने कुरा त उहाँले ‘वान टु वान’ वार्तामा गर्नुपर्ने हो, अथवा वार्ता टोलीले गर्नुपर्ने हो’–शुक्लले थपे–‘तर जुन कुरा उहाँले बाहिर ल्याउनुभएको छ, त्यो ठूलो सन्चारमाध्यमलाई प्रयोग गरेर २ नम्बर प्रदेशका मतदाता र भोलिका प्रदेश र केन्द्र चुनावका लागि मतदाताहरुको मनोविज्ञानलाई पढेर उहाँले त्यो कुरा भन्नुभएको हो ।’