सुर्खेत, ९ भदौ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले संगठन परिचालनमा कमजोरी र नेता गाउँ नपुग्दा हालैको स्थानीय तह निर्वाचनमा हारिएको स्वीकार गर्नुभएको छ ।
पार्टीले आयोजना गरेको प्रदेश नं ६ को प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुग्नुभएका अध्यक्ष दाहालले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताउनुभयो । माओवादी केन्द्रले हार्नुपर्ने जति हारिसकेकोले अब नहार्ने उहाँको दाबी छ ।
पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा छ । हेर्दै जानुहोला, अब माओवादीले जित्दै जान्छ ।”
उहाँले जनताबाट प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपतिले मात्र देशमा राजनीतिक स्थिरता दिनसक्ने दाबी गर्नुभयो ।
संविधान संशोधन विधेयक निर्णयार्थ पेश भइसकेकाले तत्काल संविधान संशोधनको प्रस्ताव नलगिने अध्यक्ष प्रचण्डको भनाइ थियो ।
भर्खरै संविधान संशोधन विधेयक संसद्बाट अस्वीकृत भएकाले अब तत्काल संविधान संशोधन नहुने पनि उहाँले बताउनु भयो ।
परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरु प्रदेश र केन्द्रको चुनाव हुन नदिन लागिपरेको भन्दै अध्यक्ष दाहालले प्रदेश नं ६ माओवादीको किल्ला भएको दाबी गर्नुभयो ।
सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक समितिका करिब ५०० सदस्य सहभागी भएका छन् ।
प्रशिक्षणमा अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, शक्तिबहादुर बस्नेत, मायाप्रसाद शर्मा, टेकबहादुर बस्नेत, कालीबहादुर मल्ल, महेश्वर गहतराजलगायत सहभागी हुनुहुन्छ ।