काठमाडौँ, ८ भदौ ।
भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच प्रधानमन्त्री कार्यालय हैदरावाद भवनमा द्विपक्षीय वार्ता भएको सथयो ।
प्रधानमन्त्री देउवा रसमकक्षी मोदीबीच दुई पक्षीय भेटवार्ता सकिए लगत्तै आयोजित पत्रकार सम्मेलनमा मोदीले स्थानीय तहको निर्वाचनले प्रजातन्त्र तथा स्थायित्वलाई सुदृढ गर्ने आशा व्यक्त गर्नुभयो ।
भारतले नेपालको आर्थिक समृद्धी र विकास चाहेको बताउँदै उहाँले नेपालमा स्थानीय तहको निर्वाचन दुई चरणमा भएकोमा खुसि ब्यक्त गर्दै संविधान सफलता पुर्वक कार्यान्वयन गर्न शुभकामना समेत दिनुभयो ।
प्रधानमन्त्री देउवासँग दुई देशको सम्बन्धलाई नयाँ रुपले अगाडि बढाउन विशेष छलफल भएको र नेपाललाई भारतले जुनसुकै अवस्थामा पनि साथ दिने मोदीले बताउनुभयो ।
भेटका क्रममा नेपालका तर्फबाट देउवाले आफूलाई अरुण ३ को शिलान्यासको लागि निम्ता दिएकोमा मोदीले आभार समेत प्रकट गर्नुभयो ।
उहाँले नेपालको बाढी प्रभावित क्षेत्रमा भारतको तर्फबाट हरेक किसिमको सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।
यस्तै संयुक्त पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै देउवाले आफूले संविधान संशोधन मार्फत संविधानलाई सर्वस्वीकार्य बनाउन खोजे पनि संसदमा दुई तिहाई बहुमत नपुग्दा संशोधन हुन नसकेको बताउनुभयो ।
उहाँले आगामी दिनमा सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन हुनेमा आशावादी रहेको उल्लेख गर्नुभयो ।
यस्तै प्रधानमन्त्री देउवाले कटैया–कुशवाहा र रक्सौल–परवानीपुर विद्युत प्रशारण लाईन विस्तार भएकोमा मोदी सरकारलाई धन्यवाद दिनुभयो ।