७ भदौ,सुनसरी । केही दिन पहिला डुबानका कारण जिल्लाका अधिकांश भू-भाग अझै जलमग्न भएको छ । सर्वसाधारणको दैनिकी सामान्य भएको छैन । बाढीका कारण धेरै नागरिकहरु बेघरबार भएका छन् ।
बाढीले पीडित बनाएकाहरुलाई एक जनप्रतिनिधिले झन पीडा थपेका छन् । एमालेका निर्वाचित वडा अध्यक्षले पीडितमाथि विभेद गरेका छन् । दोस्रो चरणको निर्वाचनबाट इनरुवा नगरपालिका-१० मा निर्वाचित वडाअध्यक्ष मोहमद सुल्तान अाफूलाई भोट नदिएको भन्दै राहत वितरणमा विभेद गरेका हुन् । उनले एमालेका स्थानीय नेता-कार्यकर्तालाई मात्र राहत दिँदै अाएको स्थानीय पीडितले गुनासो गरेका छन् ।
वडाअध्यक्ष सुल्तानले अर्को पार्टीलाई भोट दिएको भन्दै अाफूलाई राहत नदिएको स्थानीय कुसमीदेवी रामले बताइन् । ‘चुनावमा म अर्कै पार्टीमा सक्रिय भएका कारण वडाअध्यक्षले मलाई राहत दिनु नै भएन’ कुसमीदेवीले भनिन् ।
यस्तै अर्का स्थानीय भनमन्ता रामले अाफ्नो राजनीतिक अास्था एमालेमा नभएकै कारण अाफूले राहत नभएको बताए । वडाअध्यक्षले अाफूलाई भोट नदिएको भन्दै इनरुवा–१० जल्पापुरमा रहेका करिब ३० परिवार राम बस्तीलाई राहत वितरण गरेका छैनन् । उनले सरकारी राहत त दिएनन् नै गैरसरकारी संस्थाहरुले वितरण गर्ने राहत पनि उक्त बस्तीमा जान नदिएको स्थानीयको गुनासो छ ।
यता वडा अध्यक्ष सुल्तानले कसैलाई विभेद नगरेको बताउँछन् ।