एकसातामा केन्द्र र प्रदेशको चुनाव मिति घोषण हुन्छ  : अध्यक्ष प्रचण्ड

एकसातामा केन्द्र र प्रदेशको चुनाव मिति घोषण हुन्छ  : अध्यक्ष प्रचण्ड

  • बुधबार, साउन २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

 

बुटवल, २५ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्र र प्रदेशको निर्वाचन एकैदिनमा गर्न सम्भव रहेको बताउनुभएको छ ।

पे्रस सेन्टर रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुवै तहको निर्वाचन मंसिरको पहिलो साताभित्र हुन सक्ने सम्भावना रहेको छ भन्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले प्रदेश र केन्द्रको चुनाव एकैदिन गराउन सम्भव हुने र यसका लागि कुनै संवैधानिक अप्ठ्यारो नपर्ने उल्लेख गर्दै एउटै मतपत्र र बाकस बनाएर एकैदिन केन्द्र र प्रदेशको निर्वाचन गराउन सकिन्छ भन्नुभयो ।

केन्द्र र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्ने विभिन्न विकल्पमा दलबीच छलफल भइरहेको र छिट्टै सहमतिमा पुगेर निर्वाचन घोषणा हुने बताउँदै उहाँले प्रत्यक्षका उम्मेदवारले प्राप्त गरेका मतलाई पनि समानुपातिकको मान्ने, धेरै मतदाता भएका मतदान केन्द्रमा बुथ संख्या थप्ने र एकै चरणमा निर्वाचन गर्न सकिने विकल्पहरुमा छलफल भइरहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले केन्द्र र प्रदेशको एकैदिन निर्वाचन भयो भने चुनाव खर्च न्यून हुने बताउँदै नेपालको सन्दर्भमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक हुने धारणा व्यक्त गर्नुभयो ।

पार्टी संगठन कमजोर र फुटका कारण स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षाकृत नतिजा प्राप्त गर्न नसिकएको स्वीकार गर्दै उहाँले परिवर्तन र अग्रगामी निकासको पक्षमा पार्टी हुँदाहुँदै पनि स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको विषयमा पार्टीमा आन्तरिक छलफल भइरहेको जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले केही प्रवृत्ति र तत्वहरु यो संविधानलाई असफल बनाउन खोजिरहेका छन् तर त्यस्ता तत्व सफल हुन सक्दैन् भन्दै संविधान संशोधन प्रस्ताव पारित गराउन सरकारले चाँडै नै यसलाई प्रक्रियामा लैजाने बताउनुभयो ।

तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता दल पनि सहभागी हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “राजपा निर्वाचनमा नआए उसका लागि राजनीति आत्मघाती हुनेछ ।”

पे्रस सेन्टर रुपन्देहीका अध्यक्ष भुवन कार्कीको अध्यक्षता सो कार्यक्रम सम्पन्न भयो । पार्टीको प्रदेश नं ५ स्तरीय आन्तरिक कार्यकर्ता भेलामा सहभागी हुन उहाँ बुटवल आउनुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ