काठमाडौ २४ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
पार्टी फुटापछि आज बसेको केन्द्रिय समिती बैठकले आफ्नो पार्टी विभाजनामा देउवा सरकारको हात रहेकोले उसलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको राप्रपाले जनाएको छ ।
नेपाललाई हिन्दु राष्ट्र बन्न नदिने षड्यन्त्र अनुसार आफ्नो पार्टी फुटाएको राप्रपाको दाबी छ ।
साथै शेरबहादुर देउवा नेतृत्वको सरकार मधेस समस्या समाधान गर्न उदासिन भएको राष्ट्रिय एकता दिवस मनाउन गरेको आग्रहलाई उपेक्षा गरेको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको र आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित भएको आरोप पनि राप्रपाले लगाएको छ ।
राप्रपाले नक्कली हस्ताक्षर बुझाएको भन्दै पशुपती शमशेर राणको पार्टी दर्ताको निवेदन खारेज गर्न निर्वाचन अयोगसंग माग गरेको छ ।
वरिष्ठ नेता पशुपतिशम्शेर राणाले हालै मात्र राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गर्नुभएको छ ।
राप्रपाले राणा समूहमा केन्द्रीय सदस्यको ४० प्रतिशत नभएको दाबी गरेको छ ।
पार्टी फुट्नु अघि केन्द्रीय समितिमा १६५ जना रहेको भन्दै राप्रपाले राणा समूहले निर्वाचन आयोगमा बुझाएको ६४ जनाको हस्ताक्षरमध्ये ७ जना केन्द्रीय सदस्य नै नभएको र केहीको कीर्ते हस्ताक्षर रहेको राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।