काठमाण्डौ , २३ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताद्वारा प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमूख हुनुपर्नेमा जोड दिनुभएको छ ।
४ नम्वर प्रदेशका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्यहरुको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमूख मान्य अन्य दल तयार नभए आफूहरु जनताको बीचमा जाने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संविधानको प्रभावकारिता, संघीयताको सन्तुलन, राजनीतिक स्थीरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपति हुनुपर्छ ।
कार्यकारी राष्ट्रपतिका लागि हामी पहिला वैचारिक अभियान सञ्चालन गर्ने व्यापक जनदवाव सृजना गर्ने अध्यक्ष दाहालको भनाई छ ।
अहिलेको निर्वाचनमा धेरै नै आर्थिक बिकृति निम्तिएकाले यसको बिकल्प खोज्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।
उहाँले भन्नुभयो, ‘निर्वाचनमा यति धेरै बिकृति आइसक्यो कि मध्यम वर्गका मान्छेहरु पनि चुनाव लड्न नसक्ने भए । घुमाई फिराई सम्भ्रान्त वर्गले मात्रै चुनाव लड्न र जित्नसक्ने परिस्थिति सिर्जना हुँदैछ ।
यस्तो प्रवृत्तिको अन्त्यका लागि पार्टीहरु बीच प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको भन्दै उहाँले प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमूखसँग गहिरो अन्तर्सम्बन्ध रहेको पनि चर्चा गर्नुभयो ।
माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिन सक्ने खतरा औल्याउँदै प्रचण्डले भन्नुभयो, ‘एमाले लगायतका पुराना पार्टीहरुलाई संघीयता घाँडो भएको छ, गणतन्त्र पनि मन परेको छैन ।
पार्टीलाई रुपान्तरण गर्ने, पार्टीलाई नयाँ बनाई छाड्ने संकल्प गरेर अघि बढेको भन्दै अध्यक्ष दाहालले माओवादी धाराको एकता अनिवार्य रहेको बताउनु भयो ।
प्रशिक्षणमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले माघ ७ भित्रै प्रदेश र संघको निर्वाचन गर्नुपर्ने बताउनु भयो ।
पार्टीका समस्या र रुपान्तरणबारे चर्चा गर्दै नेता श्रेष्ठले पार्टीभित्र संगठनमा सुदृढ एकता नभएका कारण प्रचार संयन्त्र कमजोर भएके बताउनु भयो ।
कार्यक्रममा अर्का नेता रामबहादुर थापा ‘बादल’ले परिवर्तनको एक मात्र धारा माओवादी नै भएको निर्वाचन परिणामले पनि पुष्टि गरेको बताउनु भयो ।
कार्यक्रममा प्रदेशभित्र कार्यरत ४५० महाधिवेशन आयोजक समितिका सदस्यहरुको सहभागिता थियो ।
