काठमाडौ ,२० साउन ।
चितवनको भरतपुर महनगरपालिका वडा नं १९ मा आज पुनः मतदान भइरहेको छ । ३ वटा स्थलका ६ ओटा मतदान केन्द्रमा साँझ ५ बजेसम्म मतदान हुने जिल्ला निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै मतदान स्थलबाट १०० मिटर वरपर निषेधित क्षेत्र घोषणा गरिएको छ । मतदान स्थलमा मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटाएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभयो ।
यस्तै वर्षाले मतदान प्रभावित नहोस भन्नका लागि मतदानस्थलमा पानी नपस्ने टेण्टको समेत व्यवस्था गरिएको छ । भरतपूर महानगरको वडा नम्बर १९ मा कुल तीन हजार ७ सय ९७ मतदाता छन् ।
गत जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेको भरतपुर महानगरपालिका वडा १९ का सम्बन्धमा सर्वाेच्च अदालतले निर्वाचन आयोगको निर्णय सदर गरेपछि त्यहाँँ पुनः मतदान हुन लागेको हो ।
मतगणनाका क्रममा मतदानस्थल अनाधिकृत रुपमा कब्जा गरिएको भन्दै निर्वाचन आयोले त्यहाँ पुनः मतदान गर्ने निर्णय गरेको थियो । भरतपूर महानगरपालिकामा मुख्य रुपमा नेपाली कांग्रेस माओवादी र एमालेबीच प्रतिस्पर्धा छ ।
मतगणना स्थगित भएको समयसम्म कांग्रेस माओवादी गठबन्धनका तर्फबाट उमेदवार रेनु दाहाल भन्दा एमाले उमेदवार देवी ज्ञवाली ७ सय ८६ मतले अघि हुनुहुन्छ ।
२९ वटा वडा रहेको महानगरको २७ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ भने वडा नम्बर १९ र २० को मतपरिणाम आउन बाँकी छ ।