चितवन, १९ साउन । चितवनको भरतपुर–१९ का मतदाता अन्योलताबाट निकास निस्किने र विकासको गतिले तीव्रता पाउने आशासहित पुनः मतदान गर्न आतुर छन् । निर्वाचन भएपछि साढे दुई महिना विवादका कारण अन्योलमा बसेको भरतपुर महनगरपालिका वडा नं १९ मा भोली मतदान हुँदै छ ।
मतदान स्थलबाट १०० मिटर वरपर निषेधित क्षेत्र घोषणा गरी मतदान स्थलमा मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटाएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभयो ।
यस्तै वर्षाले मतदान प्रभावित नहोस भन्नका लागि मतदानस्थलमा पानी नपस्ने टेण्टको समेत व्यवस्था गरिएको घिमिरेले बताउनु भयो ।
चितवनका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार आज तीन वटै मतदान स्थलमा मतपत्र पु¥याइनेछ । भरतपुर–१९ मा तीनवटा मतदानस्थलमा छवटा मतदान केन्द्र रहेको छ । किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जानगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कुल तीन हजार ७९७ मतदाता छन् ।
गत जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेको भरतपुर महानगरपालिका वडा १९ का सम्बन्धमा सर्वाेच्च अदालतले निर्वाचन आयोगको निर्णय सदर गरेपछि त्यहाँँ पुनः मतदान हुन लागेको हो ।
भोलि शुक्रबार हुने मतदानले निकास पाउने आशामा मतदाता भोट हाल्न आतुर देखिएका हुन् ।
“के होला, भनेर कुर्दा–कुर्दा बल्ल भोट हाल्न पाउने भएका छौँ, भरतपुर–१९ शारदानगर मावि मतदान केन्द्रकी मतदाता तारा गुरुङले भन्नुहुन्छ, विकास र निकासका लागि मतदान गर्न आतुर छु ।”
“मतपत्र च्यातिनु गलत भए पनि फैसला ढिला हुँदा खिन्न भएका मतदातामा अहिले उत्साह थपिएको छ” उहाँ भन्नुहुन्छ, “गाउँमा पानी परिरहेको छ, चहलपहल रामै्र छ, असिना पानी परे पनि हामी भोट हाल्ने तयारीमा छौँ ।’’
सँगै भएका निर्वाचनबाट विजयी उम्मेदवारले विकासका खाका सार्वजनिक गरेर कामलाई तीव्रता दिइसकेका छन् । तर भरतपुर महानगरका २७ वटा वडाका विजयी प्रतिनिधिले काम गर्न पाएका छैनन् । त्यसैले साढे दुई महिनादेखिको अन्योल भोलिको निर्वाचनसँगै टुंगिने भरोसा मतदातामा छ ।
जीवनज्योति आधारभूत विद्यालय भोट खसाल्ने तयारीमा रहनुभएका स्थानीय उदयराज पराजुली भन्नुहुन्छ, “लामो अन्योल भो, जे भए नि होस् भोलि दोस्रोपटक भोट हाल्न पाए ढुक्क हुन्छु ।”
अन्योलताले विकास रोकेको भन्दै उहाँले भोलिको मतदानपछि भने छिट्टै परिणाम आउने र विकासको गति अघि बढ्ने आशा व्यक्त गर्नुभयो । लामो समय पानी नपरेको चितवनमा गएरातिदेखि नै वर्षा भइरहेको छ । वर्षा नहुँदा वडा नं १९ मा राम्ररी रोपाइँ भएको छैन । मतदातालाई रोपाइँको चटारो छ ।
रोपाइँ गर्ने कि भोट हाल्ने त भन्ने प्रश्नमा पराजुलीले भन्नुहुन्छ, “मेसो मिलाएर दुइटै काम गर्छन् नि, नेताहरुले खोजीखोजी आफ्ना मतदाता ल्याइहाल्छन् ।” अर्का स्थानीयवासी गुञ्जमान विक पनि भोलिको निर्वाचन सकिएपछि भने ढुक्क हुने बताउनुहुन्छ ।
अन्योलले काम गरेर खाने मजदुरलाई समस्या भएपनि निर्वाचनपछि व्यवसायमा लाग्न सहज हुने बताउनुहुन्छ । उक्त विवादित विषयमा मुद्दा हाल्नेमध्ये विक पनि हुनुहुन्थ्यो ।
शारदानगरकी अर्की मतदाता मन गुरुङ पनि भोट हाल्न उत्साहित हुनुहुन्छ । जनताले दुःख पाए पनि निकास निस्कने भएकाले भोट हाल्न जाने उहाँ बताउनुहुन्छ ।
अर्का मतदाता डा बेनबहादुर केसी आफ्नो प्रतिनिधि चुन्नका लागि पनि जानैपर्ने बताउनुहुन्छ । “पहिलेको बदर भैहाल्यो,अब फेरि भोट हालेर प्रतिनिधि चुन्नुपर्छ, उहाँको भनाइ छ ।”
जेठ १४ गते मतगणनाका क्रममा यहाँको मतपत्र च्यातिएपछि मुद्दा परेकाले यहाँको निर्वाचन अन्योलमा थियो ।
सर्वाेच्चअदालतले निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानका लागि आदेश दिएपछि भोलि शुक्रबार यहाँ पुनः मतदान हुँदैछ ।
जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकाल आज मतपत्रसहितका सबै सामग्री मतदान स्थलमा पुगिसकेको बताउनुहुन्छ । तीनवटा मतदानस्थलमा यहाँ छवटा मतदान केन्द्र र तीन हजार ७९७ मतदाता छन् । भरतपुर वडा नं २० को मतगणना गर्न बाँकी छ । यसअघि भरतपुर–१९ को बदर मतपत्र भने जलाएर नष्ट गरिसकिएको छ ।
प्रहरी उपरीक्षक दीपक थापा मतदानस्थलमा आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन भएको बताउनुहुन्छ । निर्वाचन सफल बनाउन जिल्लाका सबै राजनीतिक दलले प्रतिबद्धता जनाएका छन् ।