काठमाडौं, साउन १९ ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्ले नियुक्त हुनुभएको छ । आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले वाग्लेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
उहाँ यसअघि आयोगका सदस्य हुनुहुन्थ्यो । मन्त्रीपरिषद बैठकले ११ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसलाई अनुमोदन पनि गरेको छ ।
जसअनुसार बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधव जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङ्मार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी बन्नुभएको छ ।
डिआइजी नवराज सिलवालको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सिलवाल बाहेक ११ जना डिआइजीको नाम बढुवाको लागि सिफारिस गरेको थियो ।
यस्तै आजको बैठकले अमेरिकी सरकारी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’बाट सडक यातायात र विद्युत् प्रशारण सम्बन्धी कार्यका लागि प्राप्त हुने ५१ अर्ब ३८ करोड सहायता रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
बैठक पटि बोल्नु हुदै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सो रकमबाट पाँच वर्ष्भित्रमा त्यस क्षेत्रमा सुधारको काम सम्पन्न गर्नुपर्ने बताउनु भयो ।