काठमाडौँ, १६ साउन ।
आसन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनको तयारी स्वरुप आजदेखि सत्तारुढ दल नेकपा माओवादी केन्द्रका शिर्ष नेताहरु प्रदेश नं २ मा खटिने भएका छन् ।
अध्यक्ष्ँ पुष्पकमल दाहाल सहित नारायणकाजी श्रेष्ठ, मातृका यादव, रामबहादुर थापा, हरिबोल गजुरेल, प्रभू साह, उर्मिला अर्याललगायत नेता २ नं प्रदेशमा परिचालित हुने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले बताउनुभयो ।
प्रवक्ता भुसालका अनुसार आजदेखि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा प्रदेश नं २ अन्र्तगत धनुषाको जनकपुरमा पार्टीको बैठक र कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।
अध्यक्ष दाहालले २ नं प्रदेशका सबै गाउँपालिका र नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रदेश नं २ मा १२७ स्थानीय तहको निर्वाचन आगामी असोज २ गते गर्ने कार्यतालिका तोकिएको छ ।
आजदेखि २ नम्बर प्रदेशमा अभियानकै रुपमा चुनावी अभियानलाई तिब्रता दिने निर्णय गरेको माओवादी केन्द्रले सोहि कारण केन्द्रीय कार्यालयको बैठक समेत आगामि साउन १८ गतेका लागी सारेको छ ।