११ साउन, काठमाडौं ।
युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारीमा राजन केसी आउनु भएको छ । कांग्रेस नेता केसीले आजै पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।
केसी २०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पराजित गरी सांसद निर्वाचित हुनुभएको थियो ।
नेकपा एमालेको तर्फबाट राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव नियुक्त भएका केशव कुमार विष्टसँगको तालमेल नवनियुक्त खेलकुद मन्त्री केसीको प्रमुख चुनौति हुनेछ ।
कांग्रेसका मन्त्री र एमालेका सदस्य सचिवबीचको सहकार्यले नेपाली खेलकुदको भविश्य निर्धारण गर्नेछ ।
यसअघि एमालेका मन्त्री पुरुषोत्तम पौडेल खेलकुद मन्त्री र माओवादी केन्द्रको कोटामा युवराज लामा सदस्य सचिव हुँदा दुईबीच वादविवाद चलेको थियो ।
बर्खास्तीमा परेपनि अदालतबाट थमौती लिएका लामा र पौडेलबीचको व्यक्तित्वको लडाईंले खेलकुद धरासायी बनेको थियो ।
नवनियुक्त खेलकुद मन्त्रीका लागि आगामी वर्ष नेपालमा हुने दक्षिण एशियाली खेलकुद खेलकुदको १३ औं संस्करणको तयारी गर्नु मुख्य जिम्वेवारी रहने छ । यस्तै नेपाल क्रिकेट संघको निलम्बन फुकुवा मुख्य चुनौतिको रुपमा रहने छ ।