काठमाडौ, १० साउन ।
सरकार गठन भएको डेढ महिना पछि प्रधानमन्त्री शेर बहादुर देउवाले आज सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ ।
लामो समयसम्म पनि सरकार विस्तार गर्न नसकेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री देउवाले आज मन्त्रीमण्डल विस्तार गर्न लाग्नुभएको हो ।
काग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, र लोकतान्त्रिक फोरमबाट २ समेत गरी आज १८ जना मन्त्री थप्ने देउवाको तयारी छ ।
काग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले आजै मन्त्रिमण्डल बिस्तारका लागि आन्तरिक तयारी तिब्र पार्नुभएका उहाँको सचिवालयले जनाएको छ ।
देउवाले आफ्नो पार्टी काग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र नेता खुमवहादुर खड्का पक्षलाइ समेत भागवण्डा गरी मन्त्री बनाउने तयारी गर्नुभएको हो ।
पौडेल पक्षबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजेन्द्र कुमार केसी, जिवन परियार, सरिता प्रसांई, कमला पन्त लगायतको नाम चर्चामा छ ।
सिटौला पक्षबाट भिमसेन दास प्रधान र खड्का पक्षबाट मोहन बहादुर बस्नेतलाई मन्त्रीमा पठाउने तयारी भईरहेको छ । भौगोलिक र समावेशी सन्तुलन मिलाउन पर्ने भएकाले प्रधानमन्त्री देउवालाई आफ्नै पक्षबाट भने मन्त्रीको नाम छान्न कठिनाई भएको छ ।
देउवा पक्षबाट भरत शाह, मीन विश्वकर्मा, अम्बिका बस्नेत, भीष्म आङदेम्बे, अर्जुन जोशी लगायतको नाम चर्चामा छ ।
यस्तै नेकपा माओवादी केन्द्रबाट भने गिरिराजमणी पोखरेल, महेन्द्र बहादुर शाही, आशा खनाल, टेकवहादुर बस्नेत, सिता नेपाली लगायतको नाम चर्चामा छ । यस्तै फोरम लोकतान्त्रिकबाट जितेन्द्र देव र गोपाल दहित मन्त्रीमण्डलमा समावेश हुँदैछन् ।
आजै मन्त्रिमण्डल बिस्तार गर्ने बताएपनि देउवालाई काग्रेसबाट नै मन्त्री छान्न कठिनाई भएपछि आन्तरिक तयारीमा ब्यस्त रहनुभएकाले समय भने तय गरिएको छैन ।
मन्त्रीका आकाक्षी धेरै भएकाले उनीहरुलाई मिलाउन नसक्दा भोली सम्मका लागी मन्त्रिमण्डल बिस्तारको कार्य सर्न सक्ने स्रोतले बताएको छ ।