काठमाडौ ,९ साउन ।
प्रधानमन्त्री शेर बहादुर देउवाले भोली सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको डेढ महिना भईसक्दा समेत सरकार विस्तार गर्न नसकेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री देउवाले भोली मन्त्रीमण्डल विस्तार गर्न लाग्नुभएको हो ।
संविधान संशोधन प्रक्रियामा जानुअघि राजपा, राप्रपा, संघीय समाजवादी फोरम लगायत दललाई पनि समावेश गर्न प्रयास गर्नुपर्ने भएकाले ढिलाई भएको प्रधानमन्त्री देउवा निकटका नेताले बताउँदै आएका छन् ।
यद्यपी सत्तारुढ माओवादी केन्द्रले समेत प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद विस्तारमा गरेको ढिलाईको आलोचना गरेको छ । अहिले कांग्रेसका १०, माओवादी केन्द्रका ६, लोकतान्त्रिक फोरमका २ र नेकपा संयुक्तबाट एक मन्त्रीसहित १९ जनालाई मन्त्री बनाउने प्रधानमन्त्री देउवाको तयारी छ ।
कांग्रेसबाट बलबहादुर केसी, रामकृष्ण यादव, मीन विश्वकर्मा, भिष्मराज आङदेम्बे, मोहनबहादुर बस्नेत, भिमसेनदास प्रधान, सरिता प्रसाई, कमला पन्त, बद्री पाण्डे, जीवन परियार लगायतबाट मन्त्री बन्ने सम्भावना छ ।
तर कांग्रेसभित्र नेता रामचन्द्र पौडेल पक्षले पाँचजना मन्त्री नपाए मन्त्री बन्नेको नामै नदिने तयारी पनि गरिरहेको नेताले बताएका छन् । यस्तै माओवादीबाट गिरिराजमणी पोखरेल, टेकबहादुर बस्नेत, उमेश यादव, रेखा शर्मा लगायतबाट मन्त्री बन्नेको नाम टुंग्याउने तयारी छ ।