काठमाण्डौं ६ साउन । नेपाली कांग्रेसको प्रदेश नम्बर दुई स्तरीय भेलाले आगामी असोज दुई गते हुने स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम तथा घोषणा पत्रका लागि प्राथमिकताका बिषय समेट्दै अन्तिम रुप दिने जिम्मा केन्द्रीय समितिलाई दिएको छ ।
प्रदेश नम्बर दुईका बिभिन्न ८ जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद, पूर्वसांसद, जिल्ला तथा क्षेत्रीय सभापतिसँग सुझाव लिदै कांग्रेसले तेस्रो चरण निर्वाचनमा पार्टीलाई एक नम्बर बनाउने उद्धेश्य सहित कार्यक्रम तय गरेको हो ।
तराई मधेशको बृहत्तर बिकासका लागि महत्वपूर्ण मानिएको हुलाकी राजमार्ग निर्माण, पूर्वपश्चिम रेलमार्ग, कोशी–कमला–बागमती–नारायणी जस्ता नदीबाट सिंचाई आयोजना, प्रस्तावित बिश्वविद्यालयको सञ्चालन, मेडिकल कजेज निर्माण, बिपन्न जनताका लागि आवास निर्माण लगायत जनसरोकारका बिषय सम्बोधनका लागि कांग्रेसले सरकारसँग माग गरेको छ ।
पार्टी सभापति, बरिष्ठ नेता सहित प्रदेश नम्बर २ का प्रतिनिधिबीच राजधानीमा सम्पन्न दुई दिने भेलाले राजमार्ग, सिंचाई, बिश्वविद्यालय, अस्पताल लगायत बिषय समेटेर निर्वाचन घोषणा पत्र तयार पार्न पार्टी नेतृत्वलाई सुझाव दिएको सांसद रामकृष्ण यादवले जानकारी दिनुभयो ।
भेलाको अन्तिम दिन आज समुहगत छलफल गर्दै प्रतिनिधिले महत्वकांक्षी योजना भन्दा दैनिक जीवनसँग जोडिएका र मधेशको बिकासमा प्रत्यक्ष सरोकार राख्ने बिषयलाई घोषणा पत्रमा समेट्न नेतृत्वलाई सुझाएका हुन् ।
भेलाले निर्वाचन लक्षित बिस्तारित बैठक जनकपुरमा र बृहत चुनावी सभा वीरगञ्जमा गर्ने निर्णय गरेको नेता यादवले जानकारी दिनुभयो । समय र मिति तय गर्ने जिम्मा भने भेलाले केन्द्रलाई दिएको छ । यस्तै आठै वटा जिल्ला सदरमुकाममा चुनावी सभा गर्ने र केन्द्रीय सदस्यलाई चुनावी प्रचारप्रसारमा खटाउने निर्णय समेत भेलाको छ ।
संविधान संशोधन गर्दै मधेशी जनताको माग सम्बोधनका लागि कृयाशिल रहेको बताउदै कांग्रेसले निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी नेपाललाई आह्वान समेत गरेको छ । संविधान संशोधनप्रति असहमति जनाउदै आएको प्रमुख प्रतिपक्षी एमालेलाई देशको निकासका लागि आफ्ना बिमतीमाथि पुनर्बिचार गर्दै मुलुकलाई निकास दिन कांग्रेसले बिशेष आग्रह गरेको छ ।