प्रचण्डले भने, ‘पार्टीभित्रको गुट–उपगुट अन्त्य नगरे माओवादी सकिन्छ’

प्रचण्डले भने, ‘पार्टीभित्रको गुट–उपगुट अन्त्य नगरे माओवादी सकिन्छ’

  • मङ्लबार, साउन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, ३ साउन । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुट–उपगुट अन्त्य नगरे पार्टी नै समाप्त हुने बताएका छन् । सोमबारदेखि सुरु भएको केन्द्रीय सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै प्रचण्डले गुटकै कारण माओवादी कमजोर देखिएको बताए । ‘पार्टीभित्र गुट चलाउने भए घोषित रूपमा चलाऊँ कि आजैदेखि गुट–उपगुट विघटन गरौैँ,’ उनले भने, ‘पार्टीभित्रको गुट–उपगुटको अन्त्य नगरेसम्म पार्टी बन्न सक्दैन, जनताले खोजेजस्तो हामी हुन नसक्दा निर्वाचनमा माओवादी हार्यो ।’

करिब आधा घन्टा बोलेका प्रचण्डले अधिकांश समय पार्टीभित्रको गुटबन्दी, नेताहरूको असामाजिक चरित्रको आलोचनामा खर्चिएका थिए । उनले माओवादी नेताहरूले जनताको भावनाअनुसार सामाजिक जीवनशैली अपनाउन नसकेको भन्दै आफ्ना नेताहरूको आलोचना गरेको नेता मणि थापाले जानकारी दिए । ‘गणतन्त्र, संघीयता, धर्मनिपेक्षता, समावेशितालगायत सबै परिवर्तनका मुद्दा माओवादीका थिए,’ प्रचण्डको भनाइ उद्धृत गर्दैै थापाले भने, ‘पार्टीले सरकारमा रहेर राम्रा कामहरू गरिरहेको थियो, लोडसेडिङ हटायो, आर्थिक वृद्धिदर अहिलेसम्मकै उच्च थियो, तर पनि निर्वाचनमा सन्तोषजनक नतिजा आएन ।’

माओवादी पार्टीजस्तो हुन सकेन
प्रचण्डले चुनावपछि माओवादी पार्टीजस्तो हुन नसकेको भन्दै दुःख जनाएको बैठकमा सहभागी थापाले बताए । माओवादी नेताहरू सामाजिकीरण हुन नसकेकाप्रति उनले आक्रोश पोखेका थिए । ‘पछिल्लो समय हाम्रा नेता कार्यकर्ताले जनतासँग जोडिएर काम गर्न पनि सकेनन्, जनताको घरमा भात खान पनि अप्ठेरो माने,’ प्रचण्डले भने ।

माओवादी नेता कार्यकर्ताले जनतासँग जोडिएर काम गर्न नसक्दा निर्वाचनमा पारजित हुनुपरेको उनको भनाइ थियो । माओवादी नेतालाई जनताले आफ्नो वर्गको नेता नभई फरक वर्गको जस्तो नेताको व्यवहार गर्दा माओवादी हारेको प्रचण्डको तर्क छ । अहिलेको अवस्थामा राजनीति अस्थिर हुने देखिएकाले जनता प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा माओवादीले मुद्दा बनाउनुपर्ने प्रचण्डले जोड दिएको नेता थापाले बताए । बैठकमा निर्वाचन समीक्षाका साथै प्रदेश नम्बर २ को निर्वाचन रणनीति बनाउने र प्रदेश, संघको निर्वाचनको तयारीबारे बुधबारसम्म छलफल हुनेछ ।

प्रदेश इन्चार्जले के भने ?

प्रदेश नम्बर १ सावित्री काफ्ले
एजेन्डा आफ्ना भए पनि स्रोतसाधनको सही रूपमा परिचालन गर्न सकिएन । तालमेल गर्दा माओवादीलाईं खासै फाइदा भएन । माओवादीमा धेरै केन्द्रीय सदस्य हुँदा पनि निर्वाचनमा असर गयो । हामीले नौ तह मात्र जित्न सक्यौँ । माओवादीको गोलाकारभित्रको हँसिया हथौडा भन्दै हँसिया र तारामा जनताले भोट दिए ।

प्रदेश नम्बर २ मातृका यादव
एकतापछि मधेसमा माओवादी जनाधार बलियो भएकाले ४४ तह जित्न सकिन्छ । पार्टीभित्र भएको गुट–उपगुट अन्त्य गर्नुपर्छ । निर्वाचनमा हाम्रालाई भन्दा निर्वाचन जित्नेलाई टिकट दिनुपर्छ । कांग्रेस एमालेले कर्मचारी प्रशासन प्रयोग गरेर निर्वाचन जित्छन् । माओवादी चनाखो हुनुपर्छ ।

प्रदेश नम्बर ३ हितमान शाक्य
स्थानीय तहमा अनुभव नहुँदा हारियो । माओवादी संगठन कमजोर भयो । उपत्यकामा माओवादीले लोडसेडिङ अन्त्य गरे पनि निर्वाचन जित्न सकेनाैँ । दोलखा, धादिङ, चितवन, मकवानपुरमा जिल्लामा तालमेल भए पनि माओवादीलाई कांग्रेस मतदाताले भोट दिएनन् ।

प्रदेश नम्बर ४ देव गुरुङ
कांग्रेस एमालेसँग तालमेल गरे पनि फाइदा भएन । निर्वाचनमा एमाले र कांग्रेसले धेरै पैसा खर्च गरे । निर्वाचन गराउनेदेखि लिएर मतगणना गर्नेसम्म एमालेले सेटिङमा कर्मचारी परिचालन गर्यो । एजेन्डा स्थापित गर्न सकिएन । माओवादी सरकारमा हुँदा गरेका राम्रा कामको प्रसारप्रसार गर्न सकिएन ।

प्रदेश नम्बर ५ वर्षमान पुन
२०७० सालको निर्वाचनभन्दा तुलनात्मक रूपमा धेरै मत आएको छ । यस प्रदेशमा ४३ तह जित्ने आँकलन थियो, तर २१ तह जित्यौँ । निर्वाचनमा पैसाको खोलो बग्यो । कांग्रेस–एमालेले निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मीलाई सेटिङमा परिचालन गरे ।

प्रदेश नम्बर ६ शक्तिबहादुर बस्नेत
माओवादी केन्द्रीय कमिटी ठूलो भयो । यस प्रदेशमा माओवादीले ४० तह जित्ने अनुमान भए पनि २५ तह जित्यौँ । पार्टी विभाजनले निर्वाचनमा असर गर्यो ।

प्रदेश नम्बर ७ लेखराज भट्ट
२५ देखि ३२ तह जित्न सकिने आँकलन भए पनि १० तह मात्र जित्यौँ । एमालेले कर्मचारी प्रशासनबाट निर्वाचन प्रभावित पार्ने काम गरे । पार्टीलाई जनमुखी बनाउनुपर्यो ।-नयाँपत्रिकाबाट

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ