काठमाडौं, साउन २ । सत्ता नेतृत्वकर्ता दल नेपाली कांग्रेसले सरकार विस्तारको गृहकार्य सुरु गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक महिना नाघि सक्दासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेपछि गृहकार्य तिब्र पारिएको हो ।
सोहि क्रममा सरकार विस्तारका लागि कांग्रेसको तर्फबाट कार्यदल सदस्य रहेका नेता विमलेन्द्र निधिले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दहालसँग भेट गरी मन्त्रिपरिषद् विस्तार, निर्वाचन क्षेत्र निर्धारण आयोगलगायतका विषयमा छलफल गर्नुभयो ।
दाहालको निवास लाजिम्पाटमा भएको छलफलमा एक दुई दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे कुरा भएको नेता निधिले जानकारी दिनुभयो ।
त्यस्तै छिट्टै प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नेबारे पनि छलफल भएको थियो ।
मन्त्रालय बाँडफाँटका विषयमा सैद्धान्तिक सहमति भए पनि संख्या र नामको टुंगो लगाउने जिम्मा भने कार्यदललाई दिइएको नीधिले बताउनु भएको छ ।
दुई दलबीच कांग्रेसले १२ र माओवादी केन्द्रले ८ मन्त्रालय लिने यसअघि सैद्धान्तिक सहमति भए पनि अहिले माओवादीले ९ वटा मन्त्रालय माग गरिरहेको छ ।
कांग्रेस र माओवादीले २० वटा मन्त्रालयले लिने र बाँकी अन्य दललाई बाँड्ने विषयमा छलफल जारी रहेको बताइएको छ । अहिले पनि उर्जा, भौतिक पूर्वाधार, सूचना तथा सञ्चार, कृषि लगायतका मन्त्रालयमा टुंगो लाग्न सकेको छैन ।
अहिले आठ सदसीय मन्त्रिपरिषद्मा कांग्रेसका प्रधानमन्त्रीसहित चार, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका एक मन्त्री छन् । अझै २३ वटा मन्त्रालय नेतृत्व बिहिन छन् ।