काठमाडौँ , २ साउन ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालयको विस्तारित बैठक आजबाट सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा जारी बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा र मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तार लगायतका विषयमा छलफल हुने छ ।
बैठकमा पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसारको नतिजा प्राप्त गर्न नसक्नुका कारणलगायतका विषयमा छलफल गरिने प्रवत्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
उहाँका अनुसार ७५ वटै जिल्ला समितिका इन्चार्ज वा अध्यक्षले आफ्नो जिल्लाको समग्र अवस्थाका बारेका पार्टी नेतृत्वलाई जानकारी गराउने र आगामी दिनमा कस्तो रणनीतिका साथ अगाडि बढ्ने भन्ने बारेमा छलफल हुनेछ।
यस्तै, प्रदेश नं २ को स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको रणनीतिका विषयमा समेत छलफल हुने भुसालले जानकारी दिनुभयो ।
माओवादी केन्द्रले आजको बैठकबाट स्थानीय तहको निर्वाचनमा योजना र कार्यक्रमका हिसाबले गाउँगाउँमा सिंहदरबार भन्ने नारा अगाडि सारेपनि परिणाम सोअनुसार नआएको भन्दै त्यसको वस्तुनिष्ठ समीक्षा गर्ने छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने र जिल्ला इन्चार्जले जिल्लागत प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको छ ।
यस्तै, बैठकमा सरकार विस्तार, संविधान संशोधन, प्रदेश र संघीय संसद्को निर्वाचनको तयारीका बारेमा समेत छलफल हुनेछ ।