काठमाडौ २ साउन ।
पटक पटक सर्दै आएको चितवनको भरतपूर महानगरपालिकाको विवादास्पद मतगणनाका सम्बन्धमा सर्बोच्च अदालतले आज सुनवाई गर्दैछ ।
मतगणनाका क्रममा मतपत्र च्यातिएपछि भरतपूर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्बोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुने भएको हो ।
यसअघि पनि उक्त रिटमा सुनुवाईका लागि समय तोकिएपनि विभिन्न कारण देखाउदै सुनुवाई सर्दै आएको छ । पटक पटक सुनवाई सर्दा महानगरपालिकाको निर्वाचन अन्योल बनेको छ ।
गत वैशाख ३१ गते भएको निर्वाचनको मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले ९० वटा मतपत्र च्यातेपछि भरतपूर महानगरपालिकाको मतगणना स्थागित भएको थियो ।
उक्त स्थानमा निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेपछि वडा नम्बर १९ का वडा सदस्य उमेदवार गुनजमान विक र अधिवक्त तुलसीराम पाण्डले च्यातिएका मतपत्र बदर गरी बाँकी मत गणना माग गर्दै सर्बोच्चमा रिट दायर गरेका थिए ।