सरीता जसले आफ्नो बुबालाई कलेजो दिएर बचाईन्

सरीता जसले आफ्नो बुबालाई कलेजो दिएर बचाईन्

  • सोमवार, साउन २, २०७४
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

भक्तपुर, १ साउन । बाबुआमाको कलेजोको टुक्रा हुन् छोराछोरी, छोराछोरीको कलेजोका टुक्रा हुन् बाबुआमा भन्ने भनाइलाई काठमाडौँ महानगरपालिका–१२, लगनटोलकी २४ वर्षीया सरिता महर्जनले चरितार्थ पार्नुभएको छ ।

आज मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गत असार १८ गते आफ्नै कलेजो दिएर ५७ वर्षीय बाबु हीराकाजी महर्जनलाई बचाउने साँहिली छोरी सरिताले बाबुआमा पनि कलेजाका टुक्रा हुन् भन्ने भनाइलाई चरितार्थ पार्नुभएको हो ।

कलेजो प्रत्यारोपणपछि हीराकाजीले भन्नुभयो, “मैले जीवनको आशा मारिसकेको थिएँ, अब बाँच्दिन भन्ने लागेको थियो, तर छोरीले आफ्नै कलेजो काटेर दिन तयार भइन्, त्यसैले मैले नयाँ जीवन पाएँ, अहिले निकै खुसी भएर घर फर्कंदैछु ।”

विसं २०७२ वैशाखको महाभूकम्पले घर चर्कायो, त्रास बढायो, त्यसपछि मदिरा पिउने बानी लागेकै कारण कलेजो खराब भएको बताउँदै उहाँ भन्नुहुन्छ, “भूकम्पको डरले पिउने बानी लगायो, त्यसैले कलेजो सिध्यायो, अब कसैलाई रक्सी नखाने सल्लाह दिन्छु म ।”

डेढ वर्षअघि हीराकाजीलाई कलेजोसम्बन्धी रोग लागेको छ भनेर परिवारले थाहा पाएपछि उनको उपचार मनमोहन हृदयरोग केन्द्र, महाराजगञ्जमा भइरहेको थियो । त्यहाँका चिकित्सकहरुले कलेजो प्रत्यारोपणका लागि भारतमा जान सल्लाह दिए । तर भारतमा रु एक करोड ५० लाख लाग्ने बताएपछि मध्यमवर्गीय यो परिवारका लागि यति रकम जुटाउन सक्ने आँट नै भएन ।

त्यसैले परिवारले आशा मारिसकेको थियो । उपचारमा भौँतारिने क्रममा निदान अस्पताल, ललितपुर पुगियो, त्यहाँ हीराकाजीको परिवारको भेट कलेजो विशेषज्ञ डा. दीपेश गुरुवाचार्य र डा. पुकारचन्द्र श्रेष्ठसँग भयो, त्यसपछि सुरु भयो मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरमा दोस्रो कलेजो प्रत्यारोपण, जसका कारण महर्जनले नयाँ जीवन पाउनुभयो ।

छोरी सरिताले भन्नुभयो, “बुबालाई बचाउने ठूलो इच्छा थियो, भारतमा रु साढे एक करोड लाग्ने भनिएपछि आशा मारेपनि यहाँ करिब रु २० लाखमा कलेजो प्रत्यारोपण गर्न सकिने कुरा भएपछि बुबालाई बचाउन मैले आफँै कलेजो दिने निर्णय गरेँ ।”

महर्जनको परिवारमा छोरा छैनन्, चारवटी छोरीमध्ये दुईवटीको विवाह भइसक्यो । हीराकाजीले चलाउँदै आएको नेवारी खाजा घर पनि बिरामी परेपछि बन्द भयो, छोरीले चलाउँदै आएको बुटिक पनि महिनाँैदेखि बन्द छ, घरमा कमाउने कोही छैन । छोरी सरितालाई चिन्ता छ त अब आमाको ।

दुईवटै मिर्गौलाले काम गर्न छाडेपछि विगत दुई वर्षदेखि हीराकाजीकी श्रीमती ५२ वर्षीया मञ्जुको मिर्गौलाको डायलाइसिस हुँदै आएको छ, अब उहाँको मिर्गौला प्रत्यारोपण गर्ने अर्को समस्या छोरीको सामु छ ।

सरिता भन्छिन्, “बुबालाई त बचायौँ, अब आमाको चिन्ता छ, आमाका लागि मिर्गौलाको खोजी गर्दैछौँ, घरमा कमाउने कोही नहुँदा आर्थिक समस्या चुलिएको छ, बुबालाई नियमित औषधि खुवाउन र आमाको मिर्गौला प्रत्यारोपण कसरी गर्नु भन्ने चिन्ताले सताइरहन्छ ।”

कलेजो प्रत्यारोपणमा संलग्न डा. दीपेश गुरुवाचार्य सरिताको मानसिक शक्ति र परिवार प्रतिको मायाका कारण हीराकाजीले दोस्रो जीवन पाएको बताउनुहुन्छ ।

केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ नेपाल मै पहिलो पटक गत मङ्सिर २२ गते शुरु भएको कलेजो प्रत्यारोपण अहिले दोस्रो पटक सफल भएको बताउनुहुन्छ । कलेजो प्रत्यारोपणका लागि विदेशमा एक करोडदेखि एक करोड ५० लाख रुपैयाँसम्म लाग्ने भए पनि नेपालमा भने केन्द्रले २० लाख देखि २५ लाख रुपैयाँमा कलेजो प्रत्यारोपण गर्न सफल भएको उहाँ बताउनुहुन्छ ।

डा. श्रेष्ठ भन्नुहुन्छ, “विश्वमै जटिल मानिने कलेजो प्रत्यारोपण केन्द्रले सफलतापूर्वक दोस्रोपटक सम्पन्न गरेको छ, अब केन्द्रले प्रत्येक महिना कलेजो प्रत्यारोपण गर्ने तयारी गरेको छ, यसका लागि तत्काल दुईजना बिरामी तयारी अवस्थामा छन् ।”

भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलबाट आएको चिकित्सकको टोली र नेपालका डा. पुकारचन्द्र श्रेष्ठ, डा. छेतेन शेर्पा, डा मोहनदेव भण्डारी, डा. प्रवीण जोशी, डा. दीपेश गुरुवाचार्य, डा. सम्पूर्णमान तुलाधर, डा. सुवास आचार्य, डा. आरती राई लगायतको टोलीले कलेजो प्रत्यारोपण गरेको हो ।

यसअघि, गत मङ्सिर २२ गते दक्षिण कोरियाको सिउलस्थित सामसुङ मेडिकल सेन्टरबाट आएका विशेषज्ञहरूको टोली र नेपालको चिकित्सक टोलीले भक्तपुरको सूर्यविनायकका ३६ वर्षीय बलराम नागाको नेपालमै पहिलोपटक सफलरुपमा कलेजो प्रत्यारोपण गरेको थियो ।

कार्यक्रममा सांसदद्वय प्रेम सुवाल, रामेश्वर ढुङ्गेल तथा पूर्व उद्योगमन्त्री महेश बस्नेतले मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरले पु¥याएको सेवाको प्रशंसा गर्दै यसको विकास र विस्तारका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी