काठमाडौ, ३१ असार ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अहिले चर्चामा आएको २ सय ४० निर्वाचन क्षेत्र कायम गरेर निर्वाचनमा जाने सम्भावना नभएको बताउनु भएको छ ।
प्रेस सेन्टर नेपालले आज बिहान दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले २ सय ४० निर्वाचन क्षेत्र मानेर जानु संविधानको मर्म बिपरित हुने बताउनुभयो ।
अहिले चर्चामा रहेजस्तो कांग्रेस र माओवादी केन्द्रबिच यो बिषयमा कुनै सहमति नभएको र यो बिषयमा सहमति पनि हुन नसक्ने महराको भनाई छ ।
संविधान कार्यान्वयन, पुनर्निर्माण, सुशासन तथा आर्थिक वृद्धिदर बढाउने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको भन्दै मन्त्री महराले यीनै कुरालाई प्राथमिकतामा राखेर सरकार अघि बढेको बताउनुभयो ।
उहाँले आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्ने कार्यमा सरकार लागेको बताउनुभयो । मधेसी दलहरुलाई निर्वाचनमा ल्याउनका लागि संविधान संशोधन गर्नु परेको महराको भनाई छ ।