काठमाडौँ, २७ असार ।
एसियाली फुटवल महासंघ (एएफसी) यू–२३ च्याम्यियनसिप छनोटको तयारी स्वरुप खेलिएको अन्तर्रा्ष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) खेल मैदानमा आज भएको खेलमा नेपालले बङ्गलादेशको तेइस वर्षमुनिको टोलीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले खेलको पहिलो हाफको १९ औँ मिनेटमा अन्जन विष्टले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।
त्यसपछिको समयमा दुबै टोलीबाट थप गोल हुन नसकेपछि बिमलको गोल नै नेपालको जितमा निर्णायक बनेको थियो । नेपालले मैत्रीपुर्ण खेल मै भएपनि यस अघि भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) मा बंगलादेशको यू–२३ टोलीसँग बेहोरेको पराजयको बदला लिएको छ । १२औं सागको समुह चरणमा भएको खेलमा नेपाल बंगलादेशसँगको यू–२३ टोलीसँग २–१ गोलले पराजित भएको थियो ।
नेपाल र बंगलादेश दुबै टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) मा असार ३१ देखि साउन ४ गतेसम्म सञ्चालन हुने एएफसी यू–२३ च्याम्पियनसिप छनोट प्रतियोगिताको तयारी स्वरुप यो मैत्रीपुर्ण खेल खेलेको हो ।
छनोट खेलमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा आयोजक यूएई, उज्बेकिस्तान र लेबनान रहेका छन् । समूहको पहिलो खेल नेपालले असार ३१ गते यूएईसँग खेल्नेछ ।
नेपालले दोस्रो खेल साउन २ गते उज्बेकिस्तान र अन्तिम खेल साउन ४ गते लेबनानसँग खेल्नेछ । यसैगरी बंगलादेश समूह ‘ई’ मा रहेको छ । बंगलादेशको समूहमा जोर्डन, ताजिकिस्तान र प्यालेस्टाइन रहेका छन् ।