राजपालाई पुरानै निर्वाचन चिह्नमा चुनाव लड्नुपर्ने बाध्यता

राजपालाई पुरानै निर्वाचन चिह्नमा चुनाव लड्नुपर्ने बाध्यता

  • आइतवार, असार २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, २५ असार । नयाँ पार्टीका रुपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राष्ट्रिय जनता पार्टी नेपाललाई तेस्रो चरणमा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा पुरानै निर्वाचन चिह्नबाट चुनाव लड्नुपर्ने बाध्यता रहेको छ ।

निर्वाचन घोषणा भइसकेर दुई चरणको निर्वाचनसमेत सम्पन्न भएको अवस्थामा नयाँ दलले नयाँ चिह्न लिएर निर्वाचनमा जान सम्भव नभएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा हँुदा दर्ता भई निर्वाचन चिह्न प्राप्त गरेका दलले मात्र दलीय निर्वाचन चिह्न पाउने व्यवस्था छ ।

संविधानको धारा २६९ र २७१ अनुसार निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दलले मात्र स्थानीय तह निर्वाचन ऐन, २०७३ का आधारमा दलीय निर्वाचन चिह्न प्राप्त गर्न सक्ने प्रावधान रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माले भन्नुभयो, “अब नयाँ पार्टी दर्ता हुने अनि नयाँ पार्टीको चुनाव चिह्न मतपत्रमा छापेर पहिल्यै घोषणा भएको निर्वाचनमा प्रयोग गर्ने भन्ने कुरा सम्भव छैन ।”

राजपा गठन हुनु पहिले राष्ट्रिय दलका रुपमा मान्यता पाएका छ दलमध्ये कुनै एक दलको निर्वाचन चिह्न लिएर निर्वाचनमा जाने बाटो भने कानुनले खुला गरेको छ । मधेस केन्द्रित राजनीति गर्दै आएका छ दलबीच गत वैशाख ७ गते एकीकृत भएको राजपाले गत शुक्रबार नयाँ दलका रुपमा दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएको हो ।

व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम नेपाल(गणतान्त्रिक) एकीकृत भएका हुन् । राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको मितिले ४५ दिनभित्र दल दर्ताको टुङ्गो लगाउनुपर्ने कानुनी व्यवस्थानुसार राजपाले बुझाएको दलको घोषणापत्र, विधानलगायत आवश्यक कागजातको अध्ययन भइरहेको आयोगले जनाएको छ । राजपाले आफ्नो दलको चुनाव चिह्न छाता माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ